कावासोती । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले तथा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।
लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि लेबनानविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । अहिले खेलिरहेका चार टोलीमध्ये वरियतामा सबैभन्दा तल लेबनान छ भने तुलनात्मक रुपमा कीर्गिस्तानलाई कमजोर टोली मानिएको थियो । यद्यपी पहिलो खेलमा लेबनान र कीर्गिस्तान दुवैले विपक्षीलाई सहजै जित्न भने दिएनन् ।
कीर्गिस्तानविरुद्ध विंगर विमला चौधरीको एक मात्र गोल नेपालले पहिलो ३ अंक जोड्न सफल हुँदा फरवार्डहरु भने फिनसिङमा चुकेका थिए । पहिलो खेलमा देखिएको कमजोरीलाई दोस्रो खेलमा सुधार गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्यमा नेपाल छ ।
लेबनानका प्रशिक्षक वेल घार्जेदिनले पहिलो खेलमा म्यानमारसँग हारपछि नेपाल विरुद्ध दोस्रो खेलमा केही परिवर्तन हुने बताएका थिए । विदेशी लिग खेलेर सोमबारै मात्र काठमाडौं आइपुसगेका लेबनानका तीन खेलाडीले पहिलो खेल खेलेनन् । उनीहरु आज खेल्ने सम्भावना छ ।
नेपाल र लेबनाबीच अहिलेसम्म १ खेल मात्र भएको छ । गत वर्ष फेब्रुअरीमा साउदीमा भएको वाफ च्याम्पियनसिपमा नेपाल र लेबनान पहिलो पटक आमने सामने भएका थिए ।
सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले पराजित गरेर फाइनल प्रवेश गरेको थियो । पुजा रानाको आत्मघाती गोलमा लेबनानले पहिले अग्रता लिएपनि नेपालले पुनरागमन गर्दै जित निकालेको थियो ।
७६औं मिनेटमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् भने इन्जुरी टाइमा प्रिती राईले विजयी गोल गरेकी थिइन् ।
प्रकाशित : २०८१ फागुन ८ गते ९:४९
Facebook Comment