१८ असार २०८२
अग्रज पुस्ताबाट प्राप्त ज्ञान, सीप र संस्कार नयाँ पुस्तामा प्रवाह गर्ने उद्देश्यसहित ‘अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम’ कावासोती–८ स्थित नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय नवलपुरले आयोजना गरेको कार्यक्रममा अग्रजहरुका ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाँदा त्यसले समाजमा सकारात्मक प्रभाव पर्ने कुरामा चर्चा गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक संघ, जिल्ला समिति नवलपुरका अध्यक्ष श्यामसुन्दर भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेशसभाका पुर्व सदस्य ओमकला गौतम हुनुहुन्थ्यो । कार्यक्रममा सामाजिक विकास कार्यालय कावासोतीका प्रमुख कृष्ण प्रसाद पौडेल, वडा नं. ८ का सदस्य भवी प्रसाद भट्टराई, समाजसेवी गोकर्ण रिमाल, संस्थापक अध्यक्ष डण्डापाणी अधिकारी, सह–प्राध्यापक सन्तोष कोईराला तथा सेवा केन्द्रका चिरञ्जीवी चापागाईं लगायत ले बोलेका थिए ।
कार्यक्रममा तीन पुस्ता – ज्येष्ठ नागरिक, शिक्षक/अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ज्ञानोदय माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरू सहभागी भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूले जीवनका अनुभव सुनाउँदै श्रम, आत्मनिर्भरता, अनुशासन र सामाजिक मूल्यबारे आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा प्रस्तुत वृत्तचित्रमार्फत मुसहर समुदायको संघर्ष, आरन पेशा, पारम्परिक जीविकोपार्जनका तरिका र सांस्कृतिक पक्षहरू उजागर गरिएको थियो।
प्रमुख अतिथि ओमकला गौतमले यस्ता कार्यक्रमले युवापुस्तामा आत्मीयता, अनुशासन र संस्कारको भावना विकास गर्न सहयोग पुर्याउने बताउनु भयो । उहाँले भन्नुभयो , “हाम्रो संस्कार र मूल्य नै हाम्रो पहिचान हो। यस्ता कार्यक्रम निरन्तर हुन जरुरी छ । ”
सामाजिक विकास कार्यालयका प्रमुख पौडेलले ‘असल संस्कार, ज्ञान अभ्यास’ अभियानअन्तर्गत समाज रूपान्तरण कक्षा, बाल–बालिका र अभिभावक लक्षित कार्यक्रम तथा युवा सचेतना सत्र सञ्चालन भइसकेको जानकारी दिनुभयो। साथै, भविष्यमा वृद्धजन स्वास्थ्य, आत्मनिर्भरता र सम्मान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।
सह–प्राध्यापक सन्तोष कोईरालाले ज्येष्ठ नागरिकको जीवन अनुभव पाठशालाभन्दा ठूलो ज्ञान भएको उल्लेख गर्दै यस्तो सिकाइ विद्यार्थीका लागि अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो । विद्यार्थी आयुष श्रेष्ठले पुर्खाबाट प्राप्त संस्कारलाई परिवारमा बाँड्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
वक्ताहरूले पछिल्लो पुस्ता पश्चिमी प्रवृत्तिप्रति आकर्षित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सांस्कृतिक सम्पदा, परम्परा र पारिवारिक एकता जोगाउन जोड दिएका थिए।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक योगप्रसाद शर्माले वृद्ध आमाबुबालाई एक्लो बनाउने वा वृद्धाश्रममा पठाउने प्रवृत्ति रोक्न सामाजिक चेतना र सरकारी हस्तक्षेप जरुरी भएको बताउनु भयो । सहभागी सुसिला भुर्तेलले यस्ता कार्यक्रम वडास्तरमै नियमित गर्नुपर्ने तथा वृद्धहरूको आवास र सम्मानजनक संरचना निर्माणमा राज्यको भूमिका आवश्यक रहेको बताउनुभयो ।
समाजसेवी, शिक्षक, विद्यार्थी, युवा र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहजीकरण सामाजिक विकास कार्यालय कावासोतीका सूचना अधिकारी हरिशंकर शर्माले गर्नुभएको थियो।
Facebook Comment