कावासोती । २०४८ सालदेखि निरन्तर संसदीय निर्वाचन जित्दै आएको नवलपुर क्षेत्र नम्बर १ मा यसपटक पनि विरासत जोगाउने लक्ष्यसहित नेपाली कांग्रेस रणनीतिक तयारीमा जुटेको छ। ‘पार्टीको गढ’का रूपमा चिनिँदै आएको यस क्षेत्रलाई कायम राख्ने दाबी गर्दै कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ।
यसपटक कांग्रेसले १८ वर्षपछि स्थानीय उम्मेदवार बालकृष्ण घिमिरेलाई मैदानमा उतारेको छ। बुलिङ्गटारमा जन्मिएर विद्यालय तहको शिक्षा त्यहीँ पूरा गरेका घिमिरेलाई अघि सार्ने निर्णयले चुनावी समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण भइरहेको छ। कांग्रेस केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले स्थानीय उम्मेदवारले संगठन सुदृढीकरण र मतदाता समेट्ने रणनीतिमा थप बल पुग्ने विश्वास व्यक्त गरिन्।
बुलिङ्गटार गाउँपालिकामा घिमिरेको पक्षमा अघिल्ला निर्वाचनभन्दा मत वृद्धि हुने दाबी कांग्रेस बुलिङ्गटारका सभापति ओमकुमार श्रेष्ठको छ। “१८ वर्षसम्म राष्ट्रिय व्यक्तित्व डा. शशांक कोइरालालाई जितायौं, अब बुलिङ्गटारले हुर्काएका घिमिरेलाई प्रतिनिधि बनाउने अवसर पाएका छौं। यो अवसर खेर जान दिँदैनौं,” उनले भने।
कांग्रेसको पुरानो प्रतिस्पर्धी नेकपा एमाले, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नेपाल कम्युनिस्ट पार्टीले यस क्षेत्रको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्। उनीहरू कांग्रेसको लामो समयदेखिको वर्चस्व तोड्ने दाबीका साथ आक्रामक अभियानमा छन्। अघिल्लो निर्वाचनमा एमाले दोस्रो र रास्वपा तेस्रो स्थानमा रहेकाले यसपटक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. शशांक कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका थिए भने एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत ल्याएका थिए। रास्वपाका राजन गौतमले २४ हजार ३०५ मत प्राप्त गरेका थिए। मतान्तर कम रहेकाले यसपटकको चुनाव झन् प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ।
टिकट वितरणका क्रममा असन्तुष्ट देखिएका कांग्रेसका प्रभावशाली नेता गजेन्द्र आले मगर खुला रूपमा चुनावी अभियानमा जुटेपछि कांग्रेस भित्र उत्साह थपिएको छ। उनी उम्मेदवार घिमिरेसँगै घरदैलो अभियानमा सक्रिय छन्। “विशेष महाधिवेशनबाट बद्लिएको कांग्रेसको अबको लक्ष्य देश बदल्ने हो। पार्टीभित्र समस्या छैन, हामी निर्वाचन जित्छौं,” आलेले भने।
कांग्रेसले आन्तरिक तथा अन्य कारणले अन्य दलमा गएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउने अभियान पनि चलाएको छ।
रास्वपामा गएका करुणासागर सुवेदी र मजदुर नेता ललित श्रेष्ठ कांग्रेसमै फर्किएर चुनावी अभियानमा जुटेपछि गैंडाकोटसहित क्षेत्र नम्बर १ मा उत्साह थपिएको बताइएको छ। “पार्टी छोडेर गएका नेता–कार्यकर्तालाई पुरानै जिम्मेवारीमा फर्काउन पहल भइरहेको छ। केही दिनमै थप नेता–कार्यकर्ता फर्किने विश्वास छ,” कांग्रेस गैंडाकोटका सभापति बद्री सापकोटाले बताए।
चुनावी माहोल तातिँदै जाँदा नवलपुर–१ मा पुरानो विरासत कायम रहने कि नयाँ शक्ति उदाउने भन्ने चासो चुलिएको छ। आगामी २०८४ सालको स्थानीय निर्वाचनमा समेत यसको प्रभाव पर्ने आकलन गरिएको छ। कांग्रेस जिल्ला सचिव महेन्द्र पोख्रेलका अनुसार यसपटक कांग्रेस पूर्ण शक्तिका साथ मैदानमा उत्रिएको छ।
यस क्षेत्रमा एमालेबाट भागिरथ सापकोटा, रास्वपाबाट राजन गौतम र नेकपाबाट लोकप्रसाद भुर्तेल उम्मेदवार छन्। नवलपुर–१ मा यसपटकको प्रतिस्पर्धा त्रिकोणात्मक देखिए पनि कांग्रेस आफ्नो विरासत जोगाउने दाबीमा दृढ देखिएको छ। अब मतदाताको निर्णयले आगामी राजनीतिक दिशालाई निर्धारण गर्नेछ।
Facebook Comment