औद्योगिक ग्रामको काम अन्तिम चरणमा, दुम्किवास–त्रिवेणी सडक पनि निर्माण प्रक्रियामा : मुख्यमन्त्री पाण्डे

औद्योगिक ग्रामको काम अन्तिम चरणमा, दुम्किवास–त्रिवेणी सडक पनि निर्माण प्रक्रियामा : मुख्यमन्त्री पाण्डे

नवलपुर, पुस १४ —
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले नवलपुरको औद्योगिक ग्राम निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। आज नवलपुरको कावासोती नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण जयन्ती उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले औद्योगिक ग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) सम्पन्न भई हाल विस्तृत परियोजना प्रतिवेदन (DPR) को चरणमा पुगेको जानकारी दिए।

Messenger creation 6B2C23CE 414C 4626 9194 D66F958E2933

मुख्यमन्त्री पाण्डेले संघीय सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई औद्योगिक ग्रामको काम अघि बढाउन प्रदेश सरकार सक्रियताका साथ लागिरहेको बताए। उनले औद्योगिक ग्राम सञ्चालनमा आएपछि नवलपुरको आर्थिक गतिविधि विस्तार हुने र रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

IMG 20251229 WA0006
त्यसैगरी मुख्यमन्त्री पाण्डेले दुम्कीबास–त्रिवेणी सडक आयोजनाको EIA प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिँदै छिट्टै सडक निर्माण प्रक्रियामा पुग्ने विश्वास व्यक्त गरे। उनले नवलपुरको समग्र विकासमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कृषि क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए।

मुख्यमन्त्री पाण्डेले नवलपुरलाई आलु र चैते धानको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले कार्यक्रम अघि बढाइरहेको जानकारी दिए। कृषि उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने लक्ष्यसहित नीति तथा कार्यक्रम तयार गरिएको उनको भनाइ थियो।

नारायणी नदीको कटानका कारण नवलपुरका स्थानीय बासिन्दाले भोग्नुपरेको समस्याप्रति ध्यानाकर्षण गर्दै मुख्यमन्त्री पाण्डेले कटान रोक्न नारायणी तटबन्धनका लागि संघीय सरकारसँग छलफल भइरहेको बताए। बजेट वृद्धि गरेर तटबन्धनको कामलाई तीव्रता दिइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

शिक्षा क्षेत्रबारे बोल्दै मुख्यमन्त्री पाण्डेले हालको शैक्षिक ऐनमा केही समस्या देखिएको भन्दै आवश्यक सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्रोत–साधन सीमित भएका कारण विकास निर्माणमा केही समस्या देखिएको स्वीकार गरे।
मुख्यमन्त्री पाण्डेले सकारात्मक पक्षलाई ओझेलमा पारेर भ्रम फैलाउने काम भइरहेको भन्दै आलोचनाले मात्रै देश नबन्ने स्पष्ट पारे। विकासका लागि सकारात्मक सोच, सहकार्य र धैर्य आवश्यक रहेको उनको भनाइ थियो।

IMG 20251229 WA0007
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, महेन्द्र ध्वज जिसीलगायतले पनि आफ्ना विचार राखेका थिए।
२०३२ सालमा स्थापना भएको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण जयन्तीको अवसरमा निर्माण गरिएको स्मारक स्तम्भको अनावरण समेत मुख्यमन्त्री पाण्डेले गरेका थिए।
विद्यालयको विकासमा योगदान पुर्‍याउने सहयोगी दाता, अभिभावक तथा व्यक्तिहरूलाई मुख्यमन्त्री पाण्डेले सम्मान समेत गरेका थिए

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology