कावासोती । मिनी विश्वकप’ को नामले परिचित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको उपाधिका लागि आइतबार दुई पूर्वविजेता टोलीबिच भिडन्त हुँदैछ । प्रतियोगिताको फाइनलमा भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ ।
खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, दिउँसो १४ः४५ बजे सुरु हुनेछ । यी दुबै टोली च्याम्पियन्स ट्रफीको पूर्वविजेता पनि हुन् । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ ।
न्युजिल्यान्डले भने हालसम्म एकपटक उपाधि जितेको छ । भारतका लागि यो च्याम्पियन्स ट्रफीकै फाइनलमा विगतमा न्युजिल्यान्डसँग भोगेको नमिठो पराजयको बदला लिने उपयुक्त अवसर पनि हो । सन् २००० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
पछिल्लो समय लयमा देखिएको न्युजिल्यान्ड भने आफूलाई दुईपटक उपाधि चुम्ने तेस्रो राष्ट्रका रुपमा उभ्याउने अभियानमा छ । हालसम्म अस्ट्रेलिया र भारतले मात्र दुई–दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्न सकेका छन् ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा भारत र न्युजिल्यान्डबिच दोस्रो पटक भिडन्त हुन लागेको हो । प्रारम्भिक चरणमा यी दुबै टोली एउटै समूहमा थिए । समूह ‘ए’ बाट भारत पहिलो र न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए ।
न्युजिल्यान्डको टोली समूहगत चरणमा भारतसँग पराजित भएको थियो । न्युजिल्यान्डका लागि पनि उक्त हारको बदला लिने यो नै उपयुक्त अवसर हो । त्यसैले पनि आइतबारको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा भने किविज टोलीभन्दा भारत केही अगाडि छ । पछिल्लो आईसीसी वरीयतामा भारत पहिलो र न्युजिल्यान्ड चौथो स्थानमा आसिन छन् ।
भारतको फाइनल यात्रा
जारी च्याम्पियन्स ट्रफीमा भारत समूहगत चरणको तीनवटै खेल जित्दै सेमिफाइनलमा पुगेको थियो । भारतीय टोली ६ अंकसहित समूह ‘ए’ को विजेता बनेको थियो । उक्त समूहबाट चार अंकसहित न्युजिल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
भारतीय टोलीले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतीय टोलीले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ विकेटको जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भने भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो ।
यसैगरी, भारतीय टोलीले प्रतियोगिताको सेमिफाइनल भिडन्तमा दुईपटकको च्याम्पियन्स अस्ट्रेलियालाई चार विकेटले हराएको थियो । जारी च्याम्पियन्स ट्रफीमा आफूले खेलेको चारवटै खेल जित्ने भारत एकमात्र टोली पनि हो ।
भारतीय टोलीले आफ्नो सबै खेल एउटै रंगशालामा खेलेको छ । सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमणमा नगएपछि भारतीय टोलीले सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्ने अवसर पाएको हो । जारी प्रतियोगितामा सबै खेल एउटै स्टेडियममा खेल्ने भारत एकमात्र टोली पन हो ।
न्युजिल्यान्डको फाइनल यात्रा
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूहगत चरणमा न्युजिल्यान्डले आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।
न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र पाकिस्तानलाई ६० रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेलमा भने न्युजिल्यान्डको टोली भारतसँग ४४ रनले पराजित भएको थियो ।
प्रकाशित : २०८१ फागुन २५ गते १०:५७
Facebook Comment