टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दै

NAWALPUR TIMES

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दै

कावासोती । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।

टी-२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ ।

पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो ।

९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काट्ने छन् ।

यस पटक टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट संरचना केही फरक छ । एसिया मात्र नभएर इस्ट एसिया पेसिफिक (इएपी) समेत समावेश गरेर टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको नाममा आयोजना हुँदैछ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology