कावासाेतीमा कृषियोग्य जमिन अब बाझो राख्न नपाइने

NAWALPUR TIMES

कावासाेतीमा कृषियोग्य जमिन अब बाझो राख्न नपाइने

कावासोती । कावासोती नगरपालिकाको १७औं नगरसभा कार्यक्रमा नगर प्रमुख बिण्णु प्रसाद भुसालले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “जमिन बाझो राख्न नपाइने” नीतिलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्।

नीतिअनुसार नगर क्षेत्रभित्रका खेतीयोग्य जमिनहरू अब खाली राख्न पाइने छैन। नगरले न्यूनतम वर्षमा दुई बाली लगाउन अनिवार्य गर्ने नीति ल्याएको छ। कृषि उत्पादनशीलता बढाउने उद्देश्यले यान्त्रिकीकरण, सहकारी र समूहगत खेतीलाई प्रोत्साहन दिइने भएको छ।

नगर प्रमुख भुसालले भने, “हाम्रो नगरमा कृषिको प्रचुर सम्भावना छ। अब कुनै जमिन बाझो राख्न पाइँदैन। कृषिमा यान्त्रिक प्रविधि, आधुनिक अभ्यास र सहकार्यको माध्यमबाट उत्पादन बढाइनेछ।”

कृषकहरूलाई सिँचाइ सुविधा, गुणस्तरीय बीउ, तालिम, अनुदान तथा बजार व्यवस्थापनसम्बन्धी कार्यक्रम समावेश गरिएको छ।

उक्त नीति तथा कार्यक्रमले नगरलाई व्यवस्थित, उत्पादनमुखी र बालमैत्री बनाउने लक्ष्य राखेको छ। त्यसअनुसार पूर्वाधार निर्माण, वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन, यातायात सञ्जाल विस्तार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सरसफाइमा विशेष जोड दिइएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology