“हुप्सेकोट गाउँपालिका नागरिकको सूचनाको हकप्रति प्रतिबद्ध छ” : अध्यक्ष पाण्डे
रमेश बस्ताकोटी प्रकाशित : २०८२ असार २५ गते १२:३६
हुप्सेकोट : नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले आफू र आफ्नो नेतृत्वमा रहेको हुप्सेकोट गाउँपालिका नागरिकको सुचनाको हक प्रती प्रतिबद्ध रहेको बताएकी छन् । सुशासन प्रवर्द्धनका लागि जनप्रतिनिधि तथा कर्मचारीहरूलाई लक्षित गरी सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सोमबार उद्घाटन गर्दै उनले ब्यानरमा हस्ताक्षर गरेर यस्तो प्रतिबद्धता ब्यक्त गरेकी हुन् ।
नेपाल पत्रकार महासंघ, नवलपुर शाखाको आयोजनामा तथा हुप्सेकोट गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा उनले “म र मेरो नेतृत्वको हुप्सेकोट गाउँपालिका नागरिकको सूचनाको हक प्राप्तिप्रति प्रतिबद्ध छौं” भन्ने ब्यानरमा हस्ताक्षर गर्दै नयाँ शैलीमा कार्यक्रमको उद्घाटन गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले भनिन् : “हाम्रो पालिकामा पारदर्शिता कायम राख्न हामी निरन्तर क्रियाशील छौं। सूचनाको हक जनताको मौलिक हक हो भन्ने बुझ्दै सबै जनप्रतिनिधि र कर्मचारीले यो अधिकारलाई सम्मान गर्नुपर्छ।”
कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी तथा सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमका विशेष अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सूचनाको हक र जनताबीचको सम्बन्धको गहिराइबारे बोले।
उनले भने “सूचनाको हक कार्यान्वयन गर्नु भनेको जनतालाई अधिकार सम्पन्न बनाउनु हो। जनप्रतिनिधि र कर्मचारीले यो विषयलाई गम्भीरताका साथ लिइ नागरिकलाई जवाफदेही बन्नु अत्यावश्यक छ।”
कार्यक्रमका सहजकर्ता तथा महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष रमेश बस्ताकोटीले विषयवस्तुको प्रस्तुति गर्दै सूचनाको हकसम्बन्धी कानुनी प्रावधान, कार्यान्वयनका चुनौतीहरू तथा सफल अभ्यासबारे सहभागीलाई जानकारी गराए। उनले भने: “सूचनाको हक कार्यान्वयन नगरी सुशासनको कल्पना गर्न सकिँदैन। सबै सार्वजनिक निकायहरू आफ्ना सूचना सार्वजनिक गर्न कानुनी रूपमा बाध्य छन्, र सोहीअनुसार जनप्रतिनिधि र कर्मचारीले उत्तरदायी भूमिका निर्वाह गर्नु जरुरी छ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ, नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलले अध्यक्षता गर्दै अभिमुखीकरणको उद्देश्य र प्रभावबारे आफ्नो धारणा राखे। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव भबिश्वर पाण्डे,प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपक भट्टराई लगाएतका क्रियाशिल पत्रकारहरु उपस्थिति रहेको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिंं राना,प्रमुख प्रशासकीय अधिकृत हरि पराजुली लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीले पनि आफ्ना अनुभव र धारणा राखेका थिए । उनिहरुले सूचनाको हक कानुनका कुरा पहिले सुनेको भएपनी व्यवहारमा कसरी लागु गर्ने भन्ने ज्ञान कार्यक्रम बाट प्राप्त भएको बताए ।
कार्यक्रम हुप्सेकोट गाउँपालिकालाई सूचना-मैत्री बनाउने यात्राको एउटा महत्वपूर्ण खुड्किलो सावित भएको सहभागीहरूको प्रतिक्रिया थियो ।
कार्यक्रम सञ्चालन महासंघका सचिव आशिष रेग्मीले गरेका थिए। उनले सूचना प्राप्त गर्नु जनताको हक भएकाले यसलाई लुकाउन खोज्नु कानुनी रुपमा अपराध भएको बताए ।
Facebook Comment