वित्तीय सुशासन जोखिम मूल्याङ्कन- हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशकै प्रथम

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन ९ गते ११:२८
वित्तीय सुशासन जोखिम मूल्याङ्कन- हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशकै प्रथम

कावासोती । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशकै प्रथम भएको छ । हुप्सेकोटले आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक नतिजामा ९७ दशमलव पाँच अङ्क प्राप्त गर्दै प्रदेशकै प्रथम भएको हो । नवलपुरकै कावासोती नगरपालिका ९६.५ अंक प्राप्त गर्दै प्रदेशकै दोस्रो र स्याङ्जाका आँधिखोला गाँउपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाले समान ९४ अंक प्राप्त गर्दै तेस्रो स्थानमा उभिएका छन् ।

हुप्सेकोटले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २८, लेखाङ्कन तथा प्रतिवेदनमा १७ ,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५.५ गरी जम्मा ९७ दशमलव पाँच अङ्क प्राप्त गरेको जनाइएको छ ।सो मूल्याङ्कनअनुसार जिल्लाको कावासोती नगरपालिकाले ९६.५अङ्क, मध्यविन्दु नगरपालिकाले ९३.५अङ्क, गैँडाकोट नगरपालिकाले ९२ अङ्क, बौदीकाली गाउँपालिकाले ८८.५अङ्क, देवचुली नगरपालिकाले ८७.५ अङ्क, बिनयी त्रिवेणी गाउँपालिकाले ८१.५ अङ्क, र बुलिङटार गाउँपालिकाले ७५.५ अङ्क प्राप्त गरेका छन् ।

हुप्सेकोटले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९७.७५ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको छ । स्वमूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९८ दशमलव ८१ प्रतिशत, प्रक्रियागत स्थितिमा ९७. दशमलव ०६, परिणात्मक स्थितिमा ९७ दशमलव ७८ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले आगामी आवमा गाउँपालिकाले दुईवटै मूल्याङ्कनमा यो भन्दा माथि अङ्क आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले कर्मचारी तथा जनप्रतिनिधीहरुको मेहनतले गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा गण्डकीकै पहिलो र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाकै प्रथम भएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रकाशित : २०८१ फागुन ९ गते ११:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI