उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा प्रवेश

NAWALPUR TIMES

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा प्रवेश

हुप्सेकोट । नवलपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने हुप्सेकोट मा प्रतिनिधिसभा उम्मेदवार पाएसँगै चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको छ। नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती मगर को उम्मेदवारीसँगै कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको देखिएको छ।

यसैबीच हुप्सेकोट गाउँपालिकाका वडा नं. १, २ र ६ मा आयोजित फरक–फरक कोण सभामा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

वडा नं. १ मा मङ्गल तामाङको नेतृत्वमा, वडा नं. २ मा भक्तबहादुर रानाको नेतृत्वमा तथा वडा नं. ६ मा युवा संघका नेता प्रेमबहादुर गाहाको नेतृत्वमा विकास सिंजालीसहितका एमाले नेता–कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका कांग्रेस हुप्सेकोटका सभापति बलबहादुर रानाले बताए ।

नवप्रवेशीलाई नेपाली कांग्रेस गण्डकी प्रदेश का महामन्त्री विष्णुप्रसाद लामिछाने ले पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा बोल्दै महामन्त्री लामिछाने र कांग्रेस उम्मेदवार ओमबहादुर घर्तीले कांग्रेस जनताको भरोसाको पार्टी भएकाले विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेशको क्रम बढ्दै गएको बताए। कार्यक्रममा उम्मेदवार घर्तीले हुप्सेकोट आफ्नै जन्मभूमि भएको उल्लेख गर्दै “हुप्सेकोटको छोरालाई संसदमा पठाउन पार्टीभन्दा माथि उठेर मतदान गर्न” मतदातासँग अपिल गरे। उनले विकास, रोजगारी, पूर्वाधार र सुशासनका लागि आफू सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय नेता–कार्यकर्ताका अनुसार निरन्तर पार्टी प्रवेश, युवाको सक्रियता र स्पष्ट एजेन्डाका कारण हुप्सेकोटमा कांग्रेसको चुनावी माहोल थप बलियो बन्दै गएको छ। विभिन्न वडामा देखिएको यो राजनीतिक परिवर्तनले नवलपुर–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको उनीहरूको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology