हुप्सेकोटको बजेट ५५ करोड १० लाख, “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट अभियान” प्राथमिकतामा
NAWALPUR TIMES प्रकाशित : २०८२ असार १० गते २०:०५
कावासोती । हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ ।
हुप्सेकोट गाउँपालिकाको १७ औं गाउँ सभामा उपाध्यक्ष पूर्णसिंह राना मगरले आगामी आर्थिक वर्षका लागि ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
रानाले गाउँ सभामा पेश गरेको बजेटमा सामाजिक विकासमा सबैभन्दा धेरै अर्थात् २६ करोड ८ लाख १४ हजार विनियोजन गरिएको छ । त्यसैगरी आर्थिक विकासतर्फ २ करोड ८४ लाख ६५ हजार, पूर्वाधार विकासमा १८ करोड २३ लाख, प्रशासन र सुशासनमा ७ करोड ७० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा २४ लाख ९० हजार छुट्याइएको छ ।
गाउँसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र उत्पादनमुखी बजेटमार्फत “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” अभियानलाई सार्थकता दिन खोजिएको बताए । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष रानाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, खानेपानी, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताए ।
त्यसै गरि बजेटमा प्रविधिमैत्री र आधुनिक शिक्षाको प्रवद्धनसहित न्यून दरबन्दी भएका विद्यालयका स्वयंसेवक शिक्षकलाई भत्ता थप गरिएको छ । “निरोगी हुप्सेकोट” अभियान अन्तर्गत जनस्वास्थ्य, विशेषज्ञ सेवा र बालमैत्री कार्यक्रमहरूका लागि विशेष बजेट विनियोजन गरिएको छ ।
त्यस्तै बजेटमा स्थानीय उत्पादन र कृषिमा यान्त्रीकरणका लागि ५२ लाख ५० हजार, व्यवसायिक पशुपालन र स्वास्थ्य सेवामा ७२ लाख छुट्याइएको छ । अर्गानिक खेती, मल, बीउ भण्डारण र बजार प्रवर्द्धनमा समेत बजेट रहेको उपाध्यक्ष रानाले बताए ।
गाउँपालिका भित्रको धौवादी क्षेत्रलाई हिल स्टेसनको रूपमा विकास गर्न, हुप्सेकोट चक्रपथ र अन्य सडकहरू स्तरोन्नतीका लागि ठूला आयोजना अघि बढाइएको,डिजिटल प्रशासन, सार्वजनिक सुनुवाई, र स्थानीय न्याय सम्पादनको सुधारमा लगानी गरिएको, सबै तहमा नागरिकमैत्री, जवाफदेही र पारदर्शी सेवा प्रवाहका कार्यक्रम समेत बजेटमा समावेश गरिएको छ ।
बजेटको मुख्य स्रोतहरूमा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान, आन्तरिक राजस्व तथा गत वर्षको मौज्दात रहेको जनाइएको छ ।
Facebook Comment