सर्पको टोकाइबाट कसरी जोगिने ? डसेको अवस्थामा के गर्ने ?

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १० गते ८:०६
सर्पको टोकाइबाट कसरी जोगिने ? डसेको अवस्थामा के गर्ने ?
snake EpuhAYkRRO

कावासोती । गर्मी मौसममा विशेषगरी सर्प जमिनको सतहमा निस्किन्छन् । जमिनको सतहमा आउने क्रममा सर्प मानिसको घरसम्म पुग्ने सम्भावना उच्च हुन्छ । त्यसैले सर्पको टोकाइबाट बच्न सतर्क हुनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विषालु सर्पले टोके मानिसको ज्यान समेत जान सक्छ । त्यसैले सर्पको टोकाइबाट बच्नु पर्नेमा मन्त्रालयले जोड दिएको छ ।

सर्पको टोकाइबाट जोगिन सर्पलाई जिस्काउने वा चलाउने गर्नु हुँदैन । खेतबारीमा काम गर्दा गम्बुट जुत्ता र लामो पाइन्ट लगाउनु पर्छ । सर्पले पहिला खुट्टा बेरेर खुट्टामै टोक्ने सम्भावना धेरै हुन्छ । त्यसैले सकेसम्म गम्बुट जुत्ता लगाउनु पर्छ ।

सर्प खाना खान र पानीको खोजी गर्दै मानिसको घरमा आउन सक्छ । त्यसैले भुइँ वा जहाँ त्यहीँ खानेकुरा पोख्ने गर्नु हुँदैन । खाना तथा पानीका भाँडाहरू राम्रोसँग छोपेर राख्न प्राधिकरणको आग्रह छ । घर वरपरको घाँस वा झाडी सफा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

सर्प मुसा खानका लागि पनि घर वा घर परिसरमा आउने हुनाले मुसा नियन्त्रणका उपायहरू अपनाउनु पर्छ । अँध्यारोमा जुत्ता लगाएर तथा टर्चलाइट बालेर हिँड्ने गर्नुपर्छ । झाडीमा जानु परे गमबुट लगाउन मन्त्रालयले आग्रह गरेको छ । पराल वा दाउदा तान्न जाँदा सावधानी अपनाउन पनि भनिएको छ ।

“सुत्दा ओछ्यानमा टकटक्याऔँ । झुल हाल्ने तथा पराल र दाउरा झिक्दा वा तान्दा सचेत होऔँ । घर वरिपरि सफा राख्ने गरौँ ।
घर वा घर वरिपरि मुसाका वा अरू दुलाहरू छन् भने तत्कालै टाल्ने वा पुर्ने गरौँ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राधिकरणले भनेको छ ।

तालतलाउ, नदीनालामा विषालु सर्प हुनसक्ने हुँदा सावधानी अपनाउन आग्रह प्राधिकरणको आग्रह छ ।

सर्पले टोकेको अवस्थमा सर्पदंश केन्द्रमा गएर उपचार गर्न मन्त्रालयले आग्रह गरेको छ । धामीझांक्रीको भर नपर्न भनेको छ ।

सर्पले टोकिहाले के गर्ने ?

सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्नुपर्छ । सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने गर्नु हुँदैन ।

“कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्नू । बिरामीको आत्मविश्वास कायम राख्ने काम गर्नुपर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्नुपर्छ । तर मार्नु हुँदैन ।”

बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्‍याउनुको विकल्प नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

प्रकाशित : २०८२ साउन १० गते ८:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI