नदीजन्य पदार्थ चोरी प्रकरणमा होङ्सी सिमेन्टका तीन सवारी साधन नियन्त्रणमा

NAWALPUR TIMES

नदीजन्य पदार्थ चोरी प्रकरणमा होङ्सी सिमेन्टका तीन सवारी साधन नियन्त्रणमा

कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–३ खोरणी  खोलाबाट नदीजन्य पदार्थ (बालुवा–गिटी) चोरी गरी लैजाने क्रममा भेटिएका होङ्सी सिमेन्ट उद्योगसँग सम्बन्धित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयवासीहरूको सूचना र निगरानीका आधारमा इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको टोलीले बा १ ख ५७४६ नम्बरको ट्रिपर, प्रदेश २०–३००१–क–०६७४ नम्बरको अर्को ट्रिपर तथा G–1–PO4–KA–002 नम्बरको लोडर नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दुम्कीबासमा राखेको प्रहरीले जनाएको छ।

स्थानीयवासीहरूले रातिको समयमा खोलामा गैरकानुनी उत्खनन भइरहेको भन्दै पटक–पटक गुनासो गर्दै आएका थिए। सोही गुनासोपछि प्रहरी परिचालनमा आएपछि सवारी साधनहरू नियन्त्रणमा परेका हुन्। खोलाबाट उत्खनन भएको नदीजन्य पदार्थ होङ्सी सिमेन्ट कारखानातर्फ लगिने गरेको स्थानीयले आरोप लगाएका छन्।

इलाका प्रहरी कार्यालय दुम्कीबासका एक अधिकारीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
“अनुसन्धानको निष्कर्ष आएपछि कानूनी कारबाही अघि बढाइनेछ,” प्रहरी स्रोतले बतायाे । यसअघि पनि बिनयी त्रिवेणी क्षेत्रमा खोलाजन्य पदार्थ चोरी र अवैध उत्खननको घटना धेरैपटक दोहोरिँदै आएको छ। स्थानीय बस्ती तथा वातावरणमा नकारात्मक असर परिरहेको भन्दै बासिन्दाले कडाइका साथ कानूनी कारबाहीको माग गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology