आजदेखि मनसुनजन्य विपतकाे जोखिम, अधिकांश जिल्लामा उच्च सतर्कता

NAWALPUR TIMES

आजदेखि मनसुनजन्य विपतकाे जोखिम, अधिकांश जिल्लामा उच्च सतर्कता

कावासोती । आजदेखि विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना भएकाले मनसुनजन्य विपतकाे जोखिम न्यूनीकरणका लागि पहल सुरु भएको छ। गृह मन्त्रालयले कुनै पनि समयमा सडक बन्द गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

सोही आधारमा धेरै जिल्लामा रातको समयमा शुक्रबार बेलुकादेखि नै राजमार्ग बन्द गरिएको छ। अरनिको र बिपी राजमार्ग आजैदेखि बन्द गरिएको छ। काठमाडौंबाट हेटौँडा जाने कान्ति राजमार्ग र भैँसे सडक पनि रातमा बन्द गरिएको छ। त्यस्तै, चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त सूचना जारी गरी अत्यावश्यक अवस्थामा बाहेक राजमार्ग प्रयोग नगर्न भनेको छ। शनिबारदेखि कतिपय सडक दिउँसो पनि बन्द गर्ने तयारी भइरहेको छ।

Screenshot 20251015 084843 com whatsapp MediaViewActivity

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही जिल्लामा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले उच्च सतर्कता अपनाउन सबै पक्षलाई आग्रह गरेकी छिन्। उनले उच्च जोखिम क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न समेत निर्देशन दिएकी छिन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले विपतजन्य घटनामा जुनसुकै वेला उद्धारमा खटिनुपर्ने भएकाले तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा पनि विपत् पूर्वतयारीका लागि विभिन्न निकायसँग छलफल गरेका छन्। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि गैरसरकारी संस्थालगायत निकायसँग समन्वय गरेको छ।

शनिबार दिउँसोदेखि विभिन्न ठाउँमा अति भारी वर्षाको सम्भावना भएकाले जोखिम बढेको हो। मौसम पूर्वानुमान विभागले शनिबार र आइतबार विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको आकलन गरेको छ। जसकारण अत्यावश्यकबाहेकको अवस्थामा यात्रा नगर्न र बाढी र पहिरोकाे जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकामा शनिबारदेखि आइतबारसम्म ८ देखि १२ घन्टासम्म निरन्तर भारी वर्षा हुने सम्भावना देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology