२४ औँ जनमुक्ति सेना दिवसमा नवलपुरमा विविध कार्यक्रम, शहीदप्रति श्रद्धाञ्जली अर्पण

NAWALPUR TIMES

२४ औँ जनमुक्ति सेना दिवसमा नवलपुरमा विविध कार्यक्रम, शहीदप्रति श्रद्धाञ्जली अर्पण

नवलपुर
। २४ औँ जनमुक्ति सेना दिवसको अवसरमा आज नवलपुरमा पूर्व जनमुक्ति सेना नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। जनयुद्धकालीन संघर्षमा जीवन उत्सर्ग गरेका शहीदको स्मृतिमा कावासोती–स्थित फलफूल चोकमा रहेको शहीद स्मृति प्रतिष्ठानको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

पूर्व बिग्रेड कमान्डर टुकबहादुर थापाको नेतृत्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा पूर्व जनमुक्ति सेनाका सदस्य, राजनीतिक दलका प्रतिनिधि, जननेता, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा शहीदहरूको तस्बिरमा माल्यार्पण, पुष्पगुच्छा अर्पण तथा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

सो अवसरमा बोल्दै टुकबहादुर थापाले जनमुक्ति सेनाको स्थापना, योगदान र त्यसले नेपाली राजनीतिक परिवर्तनमा खेलेको ऐतिहासिक भूमिकाको चर्चा गरे। उनले शहीदहरूको बलिदानकै कारण आज देशमा गणतन्त्र स्थापना भएको बताउँदै शहीदप्रतिको सम्मान केवल समारोहमा सीमित नराखी व्यवहारमा पनि देखाउनुपर्नेमा जोड दिए।

“जनमुक्ति सेनाले देशको राजनीतिक परिवर्तनका लागि ठूलो त्याग गरेको छ। शहीदहरूको सपना अझै पूरा हुन बाँकी छ, त्यसका लागि हामी सबै प्रतिबद्ध हुनुपर्छ,” थापाले भने।

आजै नवलपुरको कावासोतीमा रहेको पोखरीताल क्षेत्रमा पूर्व जनमुक्ति सेनाको पुनर्मिलन कार्यक्रम समेत आयोजना गरिएको छ। उक्त कार्यक्रममा लामो समयपछि पूर्व लडाकु, कमाण्डर, सहकर्मीहरू फेरि एकै ठाउँमा भेला भएर अनुभव साटासाट गर्दै आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

साथै, साँझपख फलफूल चोकमै दीप प्रज्वलन कार्यक्रम राखिएको छ। कार्यक्रममा केन्द्रीय स्तरका नेताहरूको समेत उपस्थित रहने र सम्बोधन कार्यक्रम पनि हुने जानकारी टुकबहादुर थापाले दिएका छन्।

पूर्व जनमुक्ति सेनाले देशका विभिन्न स्थानमा पनि आजकै दिन विभिन्न कार्यक्रम गर्दै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology