कावासोती । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नं. १ को राजनीतिक सरगर्मी तीव्र बनेको छ। प्रमुख दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, राप्रपा तथा स्वतन्त्र उम्मेदवारसहित १६ जना प्रतिस्पर्धामा उत्रिएसँगै प्रचारप्रसार अभियान उत्कर्षमा पुगेको छ।
कांग्रेस भने आफ्नो पुरानो विरासत कायम राख्दै आठौँ जित निकाल्ने रणनीतिमा केन्द्रित देखिन्छ। २०४८ सालदेखि निरन्तर जित निकाल्दै आएको कांग्रेसले २०६४ पछिका सबै निर्वाचनमा शशांक कोइराला लाई उम्मेदवार बनाउँदै विजयी गराएको थियो।
शशांकको ह्याट्रिकपछि यसपटक कांग्रेसले नयाँ अनुहारका रूपमा घिमिरेलाई अघि सारेको छ। विगतमा “टुरिष्ट उम्मेदवार” को आरोप खेपेको कांग्रेसले यसपटक स्थानीय पहिचान र क्षेत्रसँग गहिरो सम्बन्ध भएका उम्मेदवारलाई मैदानमा उतारेर मतदातामाझ सकारात्मक सन्देश दिन खोजेको देखिन्छ। पार्टीभित्र उनलाई पहाड र तराई जोड्ने सेतुका रूपमा प्रस्तुत गरिएको छ।
बुलिङ्गटार गाउँपालिका मा जन्मिएर विद्यालय तहसम्मको शिक्षा त्यही पूरा गरेका घिमिरे अध्ययनका लागि कावासोती आएका थिए। उनले यहीँ दुई दशकभन्दा बढी समय प्राध्यापन पेशामा बिताए। लामो शिक्षण यात्रामा कमाएको ख्याती र सामाजिक सम्बन्धले उनको उम्मेदवारीलाई थप सहज बनाएको विश्लेषण भइरहेको छ। उनले पढाएका हजारौँ विद्यार्थीमा समेत उम्मेदवारीले उत्साह थपेको बताइन्छ। करिब १२ हजार मतदाता रहेको र कांग्रेसको बलियो आधार क्षेत्र मानिने बुलिङ्गटारमा उनको उम्मेदवारीसँगै यसपटक विगतभन्दा बढी चुनावी माहोल देखिएको छ।
बुलिङ्गटारमा जस्तै कावासोती नगरपालिकामा पनि घिमिरेको पक्षमा मतदाताको रुझान बढ्दो रहेको स्थानीयहरू बताउँछन्। कावासोतीमै दुई दशकभन्दा बढी प्राध्यापन गरेका कारण उनको आकर्षण विशेषगरी जेनजी र युवा मतदातामा उल्लेखनीय देखिएको छ। क्याम्पसमा पढाएका “बालकृष्ण सर” लाई जिताएर नीति निर्माण गर्ने थलोमा पठाउन र नवलपुरको विकासको जिम्मा दिन युवा पुस्ता सकारात्मक रहेको बुझाइ छ।
प्रष्ट वक्ता र बौद्धिक नेताको छवि बनाएका घिमिरेले मध्यविन्दु प्रादेशिक अस्पताल को विकासमा देखाएको अग्रसरताले मतदातामा थप भरोसा पैदा गरेको चर्चा छ। १५ शैयाको अस्पताललाई १०० शैय्यामा विस्तार, टहराबाट अत्याधुनिक भवन निर्माण तथा निःशुल्क डायलासिस सेवाको विस्तारजस्ता पहलले जिम्मेवारी पाए काम गर्न सक्ने नेतृत्वका रूपमा उनलाई हेर्ने मतदाताको विश्वास बढेको देखिन्छ।
निर्वाचन आउन दुई सातामात्र बाँकी रहँदा घिमिरे अहिले मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन्। तर उनी मत माग्नमै सीमित छैनन्—भेटघाटका क्रममा मतदाताबाट नवलपुरको समृद्धि र विकाससम्बन्धी सुझाव लिँदै आफ्ना योजना पनि प्रस्तुत गरिरहेका छन्।
यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचार अभियानलाई तीव्र बनाउँदै प्रतिस्पर्धा कडा पारिरहेका छन्। २०४८ देखि कांग्रेसले निरन्तर जित्दै यो क्षेत्रमा नेकपा एमाले ले भागिरथ सापकोटा लाई मैदानमा उतारदा राष्ट्रिय स्वतन्त्र पार्टी ले भने अघिल्लो पटककै उम्मेदवार राजन गौतम लाई अगाडी सारेको छ । यहाँ नेकपा बाट लोकप्रसाद भुर्तेल र राप्रपा बाट दिपक चन्द्र बस्ताकोटी उम्मेदवार रहेका छ्न ।
कांग्रेसले नयाँ मतदातालाई आफ्नो पक्षमा ल्याउने मात्रै नभएर विगतमा विभिन्न कारणले पार्टी छोडेका र पार्टी निष्क्रिय रहेका नेता कार्यकर्तालाई समेत कांग्रेसमा फर्काउने कामलाई तिब्रता दिएको छ । विशेष गरेर कांग्रेस छोडेर रास्वपामा गएका नेता कार्यकर्तालाई महत्त्व दिएर पार्टीमा फर्काउने कांग्रेसको कसरतले पनि बालकृष्णको पक्षमा थप सहजता देखिएको हो ।
Facebook Comment