कावासोती । आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट नवलपुर क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार ओमबहादुर घर्तीले नवलपुरको बहुप्रतीक्षित स्थानीय पूर्वाधार आयोजना आलोक चक्रपथको निर्माण कार्य अब कुनै बहानामा ढिलाइ नहुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी प्रचार–प्रसारका क्रममा नवलपुर–२ का विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घर्तीले आलोक चक्रपथ कावासोती, हुप्सेकोट र मध्यविन्दु नगरपालिकालाई जोड्ने मात्र नभई समग्र नवलपुरको सामाजिक–आर्थिक रूपान्तरणको आधारशीला भएको बताए। उनले यो आयोजना तोकिएको समयसीमाभित्रै सम्पन्न गराउन संघीय तहदेखि सम्बन्धित निकायसम्म आवश्यक सबै पहल गर्ने दृढता जनाए।
“आलोक चक्रपथ नवलपुर–२ का बासिन्दाको दैनिकीसँग प्रत्यक्ष जोडिएको आयोजना हो,” घर्तीले भने, “यसलाई गुणस्तरीय कालोपत्रे सडकका रूपमा विकास गर्न सके नागरिकको आवतजावत सहज हुन्छ, कृषि उत्पादनको बजारीकरण तीव्र हुन्छ र स्थानीय व्यापार–व्यवसायले नयाँ गति पाउँछ।”
हुप्सेकोटको गिरुबारी र झ्यालबासदेखि कावासोतीको डण्डा हुँदै मध्यविन्दुको कोल्हुवा, चौराहा र बसन्तपुर जोडेर पुनः हुप्सेकोटकै गिरुबारीसम्म पुग्ने यो चक्रपथ करिब ३८ किलोमिटर लम्बाइको रहेको छ। यसअन्तर्गत झ्यालबास–डण्डा खण्डमा सडक चौडा गरी कालोपत्रे गर्ने कार्यका लागि ठेक्का आव्हान भइसकेको र निर्माण प्रक्रिया अघि बढिसकेको घर्तीले जानकारी दिए।
यस चक्रपथ निर्माणपछि तीनवटै नगरपालिकाभित्रका ग्रामीण वडाहरू पूर्व–पश्चिम राजमार्गसँग प्रत्यक्ष रूपमा जोडिनेछन्। यसले ग्रामीण क्षेत्रका नागरिकलाई बजार, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीका अवसरसम्म सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।
आयोजनाबाट कावासोती, मध्यविन्दु र हुप्सेकोटका ठूलो संख्यामा नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। मतदातासँगको भेटघाटका क्रममा घर्तीले आलोक चक्रपथ नवलपुरकै दीर्घकालीन र रणनीतिक महत्वको आयोजना भएकाले यसको समयमै सम्पन्नता आफ्नो प्रमुख प्राथमिकतामा रहने दोहोर्याए।
“जनताले देखाएको विश्वास र अपेक्षालाई म राजनीतिक प्रतिबद्धतामा मात्र सीमित राख्दिनँ,” उनले भने, “यो योजना पूरा नहुँदासम्म म निरन्तर पहल गरिरहन्छु।”
नवलपुर–२ का निवर्तमान सांसद विष्णुकुमार कार्की तथा स्थानीय तहका जनप्रतिनिधिको पहलमा सुरु भएको यो आयोजना विगतमा अन्य योजनाजस्तै अलपत्र पर्ने हो कि भन्ने आशंका स्थानीयवासीमा थियो। तर घर्तीको स्पष्ट प्रतिबद्धता र निर्माण प्रक्रिया अघि बढेको अवस्थाले आलोक चक्रपथ समयमै सम्पन्न हुने विश्वास स्थानीय तहमा थप बलियो बनेको छ।
Facebook Comment