कावासोती । समुदाय स्तरमा घडियालका बारेमा सचेतना फैलाउने कामदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पुगेर खड्काले घडियाल संरक्षणमा नेपालले पाएको सफलता संसारलाई सुनाउने गोहीका घनिष्ठ गोठाला बेदबहादुर खडकाको ६१ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको छ । सहायक संरक्षण अधिकृत भएर आफ्नो जागिरे जीवनको झन्डै दुई दशक चितवन निकुञ्जमा बिताएका खड्का निकुञ्ज कार्यालयमाभन्दा धेरै नारायणी र राप्तीको बगरमा देखिन्थे । बगेको सफा पानीमा बस्ने विश्वको निकै दुर्लभ जीव घडियाल गोहीको रेखदेख गर्ने जिम्मेवारी खड्काको काँधमा थियो ।
चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रको प्रमुख रहेर काम गरेका खड्का अब कहिल्यै नदेखिने, नभेटिने गरेर सोमबार यो संसारबाट बिदा भएका छन । भौतिक रूपमा उनी नरहने पनि नेपालमा घडियाल गोहीको चर्चा हुँदा वेद खड्काको नाम सायदै कसैले बिर्सने छ ।
जागिरे जीवनबाट साढे चार वर्षअघि पुसमा अवकाश पाएका खड्का घडियाल गोही प्रतिको लगावले नै होला अवकाशपछि पनि केही समय कसरा प्रजनन केन्द्रमा नै बसेका थिए । उनले भनेका थिए, ‘लामो समय बसियो । खटेर काम गरियो । अब यहाँ आउनेहरू पनि त्यसरी नै काम गरुन् भन्ने लाग्छ । उनीहरूलाई घडियालका महत्त्व र संरक्षणका बारेमा बताउन पनि केही समय यतै बस्नु प¥यो ।’
जमिन र जल दुवै ठाउँ बस्ने जीव हो गोही । नेपालमा गोहीका दुई प्रजाति घडियाल र मगर गोही पाइन्छन् । सफा बगेको पानीमा बस्ने, माछा मात्रै खाने घडियाल गोही संकटमा परेको छ । प्राकृतिक बासस्थलमा बाँच्ने दर निकै कम भएपछि घडियाल जोगाउन चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा २०३५ सालमा घडियाल गोही प्रजनन केन्द्र खुल्यो । सो प्रजनन केन्द्रमा २०४९ सालदेखि हाल पनि कार्यरत प्रेम शर्माका अनुसार खड्काले कसरा गोही प्रजनन केन्द्रमा प्रमुख भएर १८ वर्ष काम गरे । चितवन आएपछि बीचमा दुई वर्ष लामटाङ निकुञ्जमा गएका थिए । नभए उनी चितवन र कसराको प्रजनन केन्द्रमै बसे । घडियाल जोगाउने बढाउने काम निकै चुनौतीपूर्ण रहेको छ । समर्पित भएर नलागे यो काममा प्रभावकारी नतिजा आउँदैन ।
सन् १९४० सम्म विश्वमा १० हजार जति घडियाल थिए । पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश र म्यानमारमा पाइने घडियाल सन् १९७० हृवात्तै घटेर संसारभर जम्मा दुई सयको हाराहारीमा पुगेका थिए । त्यसैले घडियाल जोगाउने अवधारणा आएको हो । २०३५ सालमा चितवनमा प्रजनन केन्द्र खुल्दा नेपालमा ५० को हाराहारीमा घडियाल थिए । घडियाल सफा पानीमा मात्रै बस्दछ । नदी र खोलानाला प्रदूषित हुँदा गोहीलाई गाह्रो भएको छ । यसको मुख्य आहारा नै माछा हो । माछामा मान्छेको पनि मन गढेको छ ।
यी चुनौतीलाई चिर्न समुदायदेखि नीति निर्मातासम्मलाई सचेत र सजग गराउनु पर्दछ । प्राकृतिक बासस्थलमा घडियालले पारेका अण्डा संकलन गरेर बच्चा कोरल्न प्रजनन केन्द्रमा राख्ने गरिन्छ । घडियालले अण्डा पार्ने समय चैततिर बालुवामा गोहीको गुँड खोज्दै जानु पर्दछ । गुँडमा रहेका अण्डा झिकेर प्रजनन केन्द्रमा ल्याउनु पर्दछ । प्राकृतिक बासस्थलमा घडियाल बाच्न नसकेर संख्या निरन्तर घट्दै गएपछि बच्चा कोरल्न प्रजनन केन्द्रमा अण्डा ल्याउन सुरु भएको हो ।
खोला आडको बालुवामा बनाएको गुँडका अण्डा ल्याएर प्रजनन केन्द्रमा बच्चा कोरलेपछि तिनको राम्रो रेखदेख र स्याहार गर्नु पर्दछ । त्यहाँका बच्चा १५० सेन्टिमिटरका भएपछि प्राकृतिक बासस्थलमा छाडिन्छ । अण्डाबाट निस्केको पाँच वर्षपछि बच्चाको लम्बाइ यत्तिको हुन्छ । यसरी हुर्केका बच्चा नदीमा छाडे पनि घडियाल फस्टाउन सकेका छैनन् । चितवनमा सबैभन्दा धेरै घडियाल गोही राप्ती नदीमा छन् । निकुञ्जबाट प्राप्त विवरण अनुसार राप्तीमा १५२ र नारायणी नदीमा ११३ गरी चितवनका खोला र नदीमा कुल २६५ वटा घडियाल छन् । जोगाउनै गाह्रो हुने घडियाल यो संख्यामा पु¥याउन खड्काको योगदान प्रमुख रह्यो भन्छन् चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर । ‘अनुभव र ज्ञान भएको व्यक्ति हुनुहुन्थ्यो र आफ्नो जिम्मेवारी पूरै लगनका साथ पूरा गर्नु भयो । नतिजाले उहाँको लगावलाई पुष्टि गरेको छ,’ कुँवरले भने ।
खड्कासँगै अनुसन्धानमूलक लेख लेखनमा काम गरेका आशिष बस्याल जागिरे जीवनमा खड्काको रुचि चराप्रति थियो । तर चितवन पुगेर घडियाल प्रजनन केन्द्रमा बस्न थालेपछि खड्का घडियालको सिल, स्वभाव, अवस्था र संरक्षणका चुनौतीका बारेमा घोत्लिन थाले । चराप्रतिको रुचि पनि उनले त्याग्न त सकेनन् । तर मुख्य रूपले घडियाल संरक्षणमा नै उनी समर्पित भए भन्छन् बस्याल । उनका विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा ६० को हाराहारीमा अनुसन्धानमूलक लेख प्रकाशित छन् । जसमध्ये २० भन्दा धेरै घडियालका बारेमा नै छन् भन्छन् बस्याल । गोही सम्बन्धी भारत, श्रीलंका, दक्षिण अफ्रिाकामा भएका अन्तर्राष्ट्रिय सभा सम्मेलनमा पनि उनी सहभागी भए । जर्नलमा लेख्ने खड्काले जागिरको सुरुवातमा घडियालका सूक्ष्म विवरण पनि हातैले कागजमा लेखेर राख्थे । जसले गर्दा घडियालको रेकर्ड राख्ने परम्पराको सुरुवात भएको बस्यालको भनाइ छ ।
‘प्रजनन केन्द्र सुरुवात गर्न पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव सरको ठूलो देन छ । यादव सरको देनलाई बिर्सन मिल्दैन । तर यादव सरले सोचेको तरिकाले प्रजनन केन्द्रलाई लैजान खड्काजीको भूमिका महत्त्वपूर्ण छ । यसमा मेहनत र धैर्य चाहिन्छ, जुन खड्काजीमा थियो,’ पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले सम्झे । घडियाल अनुगमनका लागि खड्का हप्तौं नदी र बगरमा डुल्थे । बगरमै सुत्थे, डुंगामा खान्थे । अण्डा संकलनमा पनि त्यसरी नै संसार बिर्सेर खोला चाहर्थे । घडियालको उद्धारमा पनि त्यसैगरी कुद्थे । कार्यालयको जिम्मेवारीमा पनि जाँगर चलाउने गर्दथे । मुद्दा अनुसन्धानमा पनि लाग्थे । तर उनको मनमा घडियाल नै हुन्थ्यो । साथीभाइ भेट हुँदा पनि गोहीकै बारेमा धेरै गफगाफ गर्दथे ।
नदी र खोलामा प्रदूषण नभए, खेतबारीमा विषादी नराखे पानी सफा र शुद्ध हुन्छ । त्यस्तो पानीमा माछा बस्छ । जथाभावी माछा नमारे घडियालको पनि आहारा पुग्छ । घडियालले माछा मात्रै खान्छ, मान्छेलाई कुनै हानी गर्दैन भन्ने जानकारी उनी समुदायलाई दिन्थे । घडियाल जोगाउनु भनेको वातावरण जोगाउनु हो, नदी जोगाउनु हो र समग्रमा मान्छेलाई नै जोगाउनु हो भन्ने ज्ञान उनी समुदायमा पु¥याउँथे । घडियालको संरक्षणमा यसरी लाग्ने व्यक्ति बिरलै जन्मने गर्दछन् । सरकारको काम कहिले जाला घाम भन्ने उखान विपरीत उनले सरकारले सुम्पेको जिम्मेवारीलाई दिन रात, घाम पानी, हिउँद, बर्खा नभनी पुरा गरे । उनलाई घडियालका गोठाला भन्दा फरक पर्दैन । संरक्षणमा समर्पित घनिष्ठ गोठाला । यो समाचार ईकान्तिपुर अनलाईनमा रमेश पौडेलले लेखेका छन ।
Facebook Comment