कावासोतीमा उठ्न छाड्यो फोहोर , प्रदुषित बन्दै शहर

रमेश बस्ताकोटी
प्रकाशित : २०८१ फागुन १९ गते १८:२०
कावासोतीमा उठ्न छाड्यो फोहोर , प्रदुषित बन्दै शहर

कावासोती । कावासोतीमा दुई साता देखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठ्दा सदरमुकाम कावासोती प्रदुषित बन्दै जान थालेको छ । स्थानीयहरुले फोहोर जलाउन थालेपछि यसले वायु प्रदुषण समेत बढाएको छ । कावासोती का स्थानीय कुल प्रसाद भुसालले फोहोर नउठ्दा बाटोमा हिड्न समेत मुस्किल बन्दै गएको बताए  । उनले भने,‘बजारमा फोहोरका डंगुरहरु देखिन थालेका छन् ,फोहोर नउठ्दा बिभिन्न रोगको जोखिम समेत उत्तिकै छ ।’ डम्पिङ साईडको विवाद तत्काल समाधान गरेर अगाडी बढ्नु पर्ने भुषालले बताए । उनले फोहोर उठ्न नसक्दा हुने समस्या प्रती सचेत रहन नगरपालिका संग आग्रह गरे।

कावासोतीका  चोक चोकमा फोहोर थुप्रन थालेका छन् । फोहोर नउठेर दुर्गन्धित हुँदै गएपछी स्थानीयले फोहोर जलाउन थालेका छन् ।  कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न नसकेको हो । सामुदायिक वनले आफुहरु संग ५ बर्ष अगाडि भएको सम्झौता कार्यन्वयन नभएको भन्दै फोहोर डम्पिङ गर्न रोक लगाएको हो । ६ दिन अघि नगरपालिका र अंकुर सामुदायिक वनका बिचमा फोहोर ब्यबस्थापन सम्वन्धी सम्झौता भएको थियो । तर त्यसको कार्यन्वयनको अवस्था नहेरी फोहोर फाल्न दिने अबस्थामा आफुहरु नभएको अंकुर सामुदायिक वनका अध्यक्ष लोकबहादुर केसी ले बताए । उनले भने,‘हामिले पटक पटक डम्पिङ साईड ब्यबस्थापन को लागि ध्यानाकर्षण गरायौं , सुनुवाइ नभएपछी बाध्य भएर फोहोर फाल्न रोक लगाएका हौं ।’

सामुदायिक वन र नगरपालिका बिच  फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने, नकुहिने फोहोरलाई थप वर्गीकरण गरी विक्री हुने चिजलाई विक्री गर्ने लगायतको  सहमति भएको थियो  । ‘हामी संग ६ दिन अघि पनि सम्झौता भएको छ , तर सहमती बमोजिम काम भएको छैन , त्यसको उचित ब्यबस्थापन नभए सम्म हामी फोहोर फाल्न दिँदैनौ ।’ केसी ले भने ।  कावासोती नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको थियो ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अंकुर सामुदायिक वन संग सहमति भएको भन्दै अब छिट्टै फोहोर उठ्ने बताए । उनले भने,‘हामी सहमतीमा पुगेका छौं , सहमती अनुसारका काम सुरु भएका छन्, अब छिट्टै फोहोर उठ्छ ।’ पौडेलले फोहोर उठाउने ठेकेदार संग पनि छलफल भएको भन्दै डम्पिङ साईडको ब्यबस्थापन छिट्टै हुने बताए । पौडेलले छिट्टै फोहोर उठाउने बताएपनी सामुदायिक वन संग भएको सम्झौता कार्यान्वयन को प्रक्रिया अगाडि बढेको छैन । सम्झौता अनुसार काम गर्ने हो भने पनि अझै एक साता फोहोर उठ्न समय लाग्ने पौडेलले बताए ।

रोकिएको फोहोर उठाउनु पूर्व फोहोर फालिएको ठाउँमा सरसफाई गर्ने र त्यसपछि थप प्रक्रिया अगाडि बढाएर फोहोर उठाइने सहमती नगरपालिका र सामुदायिक वन बीच सम्झौता भएको थियो ।

प्रकाशित : २०८१ फागुन १९ गते १८:२०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI