कावासोती । सडक बिस्तारमा ढिलाई हुँदा समस्याग्रस्त बनेको पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
सडक मर्मत एवम् विस्तारका क्रममा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सडक मर्मतका लागि आजदेखि चैत्र ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म दैनिक चार घण्टा र सडक विस्तारका लागि २०८२ बैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म रातीको ११ बजेदेखि भोलिपल्ट विहान ५ बजेसम्म दाउन्ने सडक खण्ड हुँदै गुड्ने सवारी साधनलाई रोकेर सडक निर्माणको कामलाई तिब्रता प्रदान गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालयले जनाएको छ । साथै उक्त अवधिमा कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी खण्डको सडक प्रयोग गर्न निर्देशनालयले अनुरोध गरेको छ ।
अहिले उक्त सडक खण्डको दुम्किबास देखि बर्दघाट सम्मको दाउन्नेमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भैरहेकाले सवारी साधनहरु घण्टौँ जाममा पर्दा यात्रुहरुले निकै सास्ती भोग्नुपरेको छ । दुम्किबास देखि बर्दघाट सम्म १४ किलोमिटर दुरीको दाउन्ने खण्ड पार गर्न सवारी जामले ५ देखि ६ घण्टा लाग्ने गरेको छ । सवारीको जाममा फसेका यात्रुहरुलाई सडक विस्तारका क्रममा उडेको धुलोले स्वास्थ्यमा समेत नराम्रो असर पार्ने गरेको छ ।
यस अघि गत चैत्र २३ गते नवलपरासी पूर्व र नवलपरासी पश्चिमको जिल्ला सुरक्षा समिति, जनप्रतिनिधिहरु, नारायणगढ-बुटवल सडकको आयोजना प्रमुख, ठेकेदार कम्पनीको संयुक्त बैठकले यातायात आवागमन बन्द गरेर बाटो बिस्तारको कामलाई तिब्रता दिने निर्णय गरेको थियो ।
सडक बिस्तारको काम सुरु गरेको ६ वर्षको अवधिमा पूर्वी खण्डमा ४७ किलोमिटर एकतर्फी कालोपत्रेको काम भएको छ भने कार्य प्रगति भने ५८ प्रतिशत मात्रै छ । सडक बिस्तारमा ढिलाई हुँदा नारायणगढ-बुटवल सडक खण्डको यात्रा निकै कष्टपूर्ण बनिरहेको छ । यसतर्फ ठेकेदार कम्पनी र सरकारी पक्षको बेवास्ताका कारण बिगत ६ वर्षदेखि यस सडक खण्ड भएर यात्रा गर्ने यात्रुले कठिन र असहज यात्रा गर्न बाध्य छन ।
प्रकाशित : २०८१ चैत २६ गते ८:३४
Facebook Comment