नारायणघाट–बुटबल सडक : चौथो पटक म्याद थपको तयारी, ठेकेदारले माग्यो थप डेढ वर्ष समय

बोमलाल गिरी
प्रकाशित : २०८२ असार १७ गते ९:३७
नारायणघाट–बुटबल सडक : चौथो पटक म्याद थपको तयारी, ठेकेदारले माग्यो थप डेढ वर्ष समय

नवलपुर । नारायणघाट–बुटबल सडक खण्ड विस्तारका लागि अन्तिम भन्दै तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा फेरी म्याद थपको गृहकार्य सुरु भएको छ । आगामी असार ८ गते तेस्रो पटक थपिएको म्याद सकिने भएकाले त्यसअघि नै गृहकार्य सुरु गरिएको हो ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन प्रा.ली.ले थप डेढ वर्ष अर्थात पाँच सय २६ दिन समय मागेको कम्पनीका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए ।

‘‘विविध कारणले गर्दा तोकिएको समयमा काम सम्पन्न हुन सकेन, अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भैसकेको छ, त्यसैले अव सन् २०२६ को डिसेम्बर अन्तिमसम्मको समय थप गरिदिन सरकारसँग आग्रह गरेका छौं,’’ म्यानेजर झाले भने, ‘‘त्यति समय दिएमा काम पूर्ण रुपमा सम्पन्न गर्छौ ।’’

उनले अर्को साउनसम्म दाउन्नेसहित नारायणघाटदेखि बुटबलसम्मको ११४ किलोमिटरको सबै सडक कालोपत्रे गरेर सक्ने र बाँकी ६ महिनामा रंगरोगन गर्ने, सडक संकेतहरु राख्ने र अन्तिम रुप दिने काम हुने भएकाले त्यही अनुसारको समय माग गरेको बताए ।

२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनीसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार २०७५ साल चैतमा बाटोको शिल्यान्यास गरिएको थियो । तर ७ वर्षमा पनि काम नसकिएपछि अझै थप डेढ वर्षको समय माग गरिएको छ ।

बढीमा एक वर्ष थपिने
तर सरकारले भने एकै पटक डेढ वर्ष थप्न नसकिने बताएको छ । सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार ६ महिनादेखि एक वर्षको समय थप्ने गरी छलफल चलेको छ । ‘‘उहाँहरुले डेढ वर्षको समय माग्नु भएको छ, हामी पुरै डेढ वर्ष दिन सक्दैनौं, ६ महिनादेखि बढीमा एक वर्षसम्मको म्याद थप्ने गरी छलफल चलिरहेको छ, सम्भवतः त्यही नै निर्णय हुन्छ होला,’’ निर्देशक ढकालले भने ।

यसअघि गत साउनमा म्याद थप्दा पनि ठेकेदार कम्पनीले डेढ वर्षको समय मागेको थियो र अन्तिम पटक भन्दै एक वर्ष म्याद थप्ने र थपिएको समयमा काम सम्पन्न नगरे ठेक्का सम्झौता तोड्ने सर्त पनि अघि सारिएको थियो । तर अन्तिममा पुरै काम सम्पन्न नभए पनि नारायणघाटदेखि बुटबलसम्म एकतर्फी कालोपत्रे गर्ने काम सक्नु पर्ने सर्त थियो । तर ठेकेदार कम्पनीले त्यो पनि पुरा गरेन ।

यो एक वर्षको अवधिमा थप १८ प्रतिशत मात्र भौतिक प्रगती भएको छ । अघिल्लो साउनसम्म सडक विस्तारको प्रगती ५२ प्रतिशत रहेकोमा एक वर्षमा १८ प्रतिशत थप गरेर अहिले ७० प्रतिशत पुगेको आयोजनाको भनाइ छ ।

ढिलाइ किन ?
सडक विस्तारका लागि डिपिआर बनेको केही वर्षपछि मात्रै चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको हो । त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो । पछिल्लो सम्झौतापछि पनि तुरुन्तै काम सुरु हुन सकेन ।

चाइनाको कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम सुरु गर्नै ११ महिना लागेको थियो । डिपिआर बन्दा सुरुआती चरणमा वातावरणीय प्रभाव मूल्याङ्कनबाट नौ हजार वटा रूख काट्नुपर्ने देखिएको थियो । तर, सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रूखको संख्या अत्यधिक बढी देखियो । अनि त्यही बीचमा कोरोना संक्रमणको महामारी प्रमुख कारण देखाउँदै ठेकेदार कम्पनीले म्याद थपको समय मागि नै रहेको छ ।

यात्रुलाई सधै सास्ती
अझै पनि दाउन्नेको सकस उस्तै छ । जसले गर्दा यो मार्ग भएर यात्रा गर्ने जोसुकैले पनि वर्षामा सास्ती भोगिरहनु परेको छ । ठाउँ ठाउँमा पुल भाँचिएर हैरानी खेप्दा पनि नयाँ पुल निर्माणको काम अझै बाँकी छ । गैडाकोट, हर्कपुर, कावासोती, चोरमारा, आरुङखोला, दुम्किवासमा नयाँ पुल अझै बनेका छैनन् । नयाँ पुल नबन्दा र पुराना भाँचिदा वर्षको सयममा बनाइएका डाइभर्सन पटक पटक खोलाले बगाउने गरेको छ । यसको मारमा पनि यात्रु र चालक परिरहेका छन् ।

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनिएको यो सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमि सडकमध्ये ७० किमि ६ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा सम्झौता भएको हो । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण गर्नुपर्ने छ ।

प्रकाशित : २०८२ असार १७ गते ९:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI