चितवन राष्ट्रिय निकुञ्जको संस्थापक रामपृत रहेन्न

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक २३ गते ८:५०
चितवन राष्ट्रिय निकुञ्जको संस्थापक रामपृत रहेन्न

कावासोती । चितवन राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवको शनिबार निधन भएको छ ।

२०२७ साल देखि  निकुञ्जको नक्सांकन, साँध निर्धारण गर्न खटेका यादवको शनिबार चितवनको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको हो ।

सिराहाको बरिहायरपट्टीमा जन्मेका यादव हेटौंडाको वन कार्यालयमा रेन्जर रहेको थिए । २०२७ सालमा निकुञ्जको साँध सिमाना नाप्ने र खोज्ने काम गरे । २०२९राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन जारी भए पछि चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको औपचारिक घोषणा २०३० सालको असोज ४ मा भएको थियो । रामपृत र अन्य व्यक्ति यसभन्दा पहिलेबाटै फिल्डमा खटेका थिए ।

रामपृतले चितवन निकुञ्जमा मात्रै २७ वर्ष काम गरे । चितवनमा रेञ्जरबाट सहायक संरक्षण अधिकृत र पछि प्रमुख संरक्षण अधिकृत भए । प्रमुख संरक्षण अधिकृत भएर २०४६ सालमा उनी बर्दिया राष्ट्रिय निकुञ्जमा सरुवा भएका थिए ।

जागिरे जीवनका ६ वर्षजति मात्रै उनले चितवनबाहिर बिताए । लामो समय चितवनमै बसे । २०५७ सालमा अवकाश हुँदा उनी पर्सा निकुञ्ज (त्यतिबेला वन्यजन्तु आरक्ष)को प्रमुख संरक्षण अधिकृत थिए । अहिले भरतपुरको कृष्णपुरमा बसोबास थियो ।  अवकाश पछि पनि निरन्तर संरक्षणको काममा जुटेका यादव डब्लुडब्लुएफको ताल परियोजनामा संरक्षण परामर्श दाताका रूपमा सक्रिय थिए ।

प्रकाशित : २०८२ कार्तिक २३ गते ८:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI