हुप्सेकोटकी कृषक तिवारी ‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत

दिपेन्द्र रेग्मी
प्रकाशित : २०८२ असार ११ गते २०:११
हुप्सेकोटकी कृषक तिवारी ‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत

कावासोती । “मिहिनेत गर्ने हातहरुलाई राष्ट्रले पनि सम्मान गर्दो रहेछ”, यो भनाई हो हुप्सेकोटका कृषक बाटुलि तिवारीको ।

नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं.४ मा रहेको मित्र वाटिका कृषि फर्मका सञ्चालक बाटुलि तिवारी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मनत्रालयद्वारा राष्ट्रपति भवन शितल निवासमा असार १० गते आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जना किसानलाई यो पुरस्कार प्रदान गर्नुभएको थियो । देशभरका उत्कृष्ट १४ कृषक मध्य हुप्सेकोट ४ शंखदेवकि कृषक तिवारीपनि पर्न सफल हुनुभएको हो ।

FB IMG 1750861271057

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रुपमा छानिएर आएका १४ जना किसानलाई कृषि क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रत्येक कृषकलाई दुई लाख नगद सहित सम्मान गरिएको हो ।

‘राष्ट्रिय उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित हुनुभएकि तिवारीले विगत लामो समयदेखि परम्परागत कृषि पेशा गर्दै आईरहेकोमा पछिल्लो समय विं.सं २०७० सालदेखि मित्रवाटिका कृषि फर्म दर्ता गरि केहि आधुनिक प्रविधिहरुबाट व्यवसायिक कृषिलाई नै अंगालेको बताउनुभएको छ । तिवारीले भन्नुभयोः“पहिले त उहि पुरानै तरिकाबाट खेतिपाति गथ्यौँ, श्रीमानले जागिर छोडेपछि चैँ परिवार सबैले कृषिलाई नै व्यवसाय बनायौँ ।” उहाँले राष्ट्रपतिबाट पुरस्कृत हुँदाको क्षण आफ्नो झण्डै ५ दशक लामो जिन्दगीकै सबैभन्दा खुसिको क्षण भएको भन्दै “मिहिनेत गर्ने हातहरुलाई राष्ट्रले पनि सम्मान गर्दो रहेछ” भन्ने अनुभव भएको सुनाउनुभयो ।

FB IMG 1750861287410

२०५६,०५७ साल देखि नै विभिन्न नगदेवालिहरु जस्तैःकेरा खेती, घ्युकुमारी खेती गर्दै आएकोमा २०७० सालमा फर्म दर्ता गरेर व्यवसायिक रुपमा घ्युकुमारी खेतिबाटै सुरुवात गरेको मित्र वाटिका कृषि फर्मका व्यवस्थापक समेत रहनुभएका बाटुली तिवारीका श्रीमान मित्रलाल तिवारीले बताउनुभयो । उहाँले केराखेतिबाट राम्रो आम्दानि गरेको भएपनि घ्युकुमारीबाट भने सोँचेअनुरुप सफलता नपाएको गुनासो गर्नुभयो । “उत्पादन त ठिकै भाथ्यो, घ्युकुमारीको बजारिकरण गर्न वा त्यसको खरिदकर्ता सम्म पुग्न नसक्दा समस्या भयो,” उहाँको भनाई छ ।

२०७६ सालमा शिक्षकको जागिरबाट निवृत्त भएपछि पछि भने व्यवसायिक तरकारी खेति सहित विउ उत्पादनमा लागेको व्यवस्थापक तिवारीले बताउनुभयो । उहाँले गत वर्ष मात्रै सुरु गरेको बिज वृद्धि कार्यक्रमबाट सवा क्विन्टल अर्थात झण्डै १८ लाख मूल्य बराबरको कांक्राको विउ र झण्डै १२ लाखको काक्रा बेच्न सफल भएको सुनाउनुभयो । त्यस्तै गत वर्ष नै ६ लाख बराबरको घ्यु सिमि, ४ लाख भन्दा बढिको बोडि र अन्य तरकारी गरि ४० लाख भन्दा बढिको कृषि उत्पादन विक्रि वितरण गरेको भन्दै सबै खर्च कटाएर ९ लाख भन्दा बढि आम्दानि भएको बताउनुभयो ।

कृषि फर्मका व्यवस्थापक तिवारीले अहिले ३ विगाहा क्षेत्रफलमा तरकारी खेति र डेढ विगाहा क्षेत्रफलमा मौसमि वालि अर्थात धान, गहुँ, मकै लगायतको खेतिगर्दै आएको बताउनुभएको छ । शंखदेव बहुउद्येसिय कृषि समुहका अध्यक्ष एवं राष्ट्रिय कृषक महासंघ हुप्सेकोटको समेत अध्यक्ष रहनु भएका तिवारीले समुह मार्फत पनि गत वर्ष २४ विगाहा क्षेत्रफलमा गहुँ उत्पादन गरेको बताउनुभयो । उहाँले स्नातक र स्नातकोत्तर शिक्षण पेशामै लागेको जेठो छोरा र स्नातक पढेर युके गएर आएको कान्छो छोरा सहित स्नातकोत्तर पढेकि बुहारी समेत अहिले गाउँमै कृषि पेशा मै रमाईरहेको बताउदै ३४ वर्षको शिक्षण पेशामा पनि नमिलेको सम्मान कृषि पेशाबाट पाएको बताउनुभयो ।

शिक्षण पेशाबाट अवकास हुँदै गर्दा प्राप्त गरेको २९ लाख रुपियाँ सबै जग्गामा लगानि गरेर श्रीमती बाटुली तिवारीको नामबाट मित्रवाटिका कृषि फर्म सुरु गरेकोमा, अहिले परिवार वाहेक पनि विभिन्न समयमा गरि सरदरमा ९,१० जनाले रोजगारि प्राप्त गरेको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्रबाट समेत काक्रो र घ्युसिमिको विज वृद्धिकालागि ३ लाख र १ लाख गरि ४ लाख अनुदान समेत प्राप्त गरेको भन्दै तिवारीले प्रधानमन्त्री कृषि आधुनिकिकरणबाट समेत गत वर्ष १७ हजार, हुप्सेकोट गाउँपालिकाबाट मागमा आधारित २५ हजारको साथै उद्यमशिल हुप्सेकोट लगायत समग्रमा कृषि ज्ञान केन्द्र, स्थानिय पालिका र सरकारले कृषि फर्मलाई राम्रो सहयोग गरिरहेको बताउनुभएको छ ।

गत वर्ष २०८/८१मा समेत शंखदेववाट सबैभन्दा धेरै तरकारि उत्पादन गरि बिक्रि गरेर गण्डकी प्रदेशकै उत्कृष्ट कृषकको रुपमा सम्मान पाईसकेको तिवारीले बताउनुभयो । उहाँले अहिले ६ कट्ठा जग्गामा भ्रमि मल(गड्यौँला मल) बनाउँदै गरेको भन्दै आगामि वर्षदेखि गाईपालनसमेत सुरु गरि भ्रमि मल र प्राङ्गारिक मलबाट मात्रै कृषि गर्ने योजनामा आँफुहरु रहेको बताउनुभएको छ ।

राष्ट्रपतिबाट कृषि फर्म सञ्चालिकाको रुपमा श्रीमती पुरस्कृत हुँदा यो भन्दा ठूलो सम्मान अरु केहि नहुने आँफुले महषुस गरेको भन्दै तिवारीले अब हुप्सेकोटको शंखदेव मात्र नभई पालिकाका सम्पूर्ण कृषकलाई अर्गानिक कृषि उत्पादनमा जोड्ने उद्येश्य रहेको बताउनुभयो ।

उहाँले कृषहरुद्धारा उत्पादित वस्तु काठमाण्डौ नै पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाले विभिन्न समस्याहरु सिर्जित हुने गरेको भन्दै सकेसम्म स्थानिय पालिकाले नै उत्पादित वस्तुको बजारिकरण एवं भण्डारणकालागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रकाशित : २०८२ असार ११ गते २०:११
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI