नवलपुर जिल्लामा आगलागी नियन्त्रणका लागि न्यूनतम आवश्यक पूर्वाधारको समेत अभाव हुनु आफैँमा गम्भीर चिन्ताको विषय हो। जिल्लामा आठवटा स्थानीय तह रहेका छन् तर हाल कावासोती नगरपालिकाले सञ्चालनमा ल्याएको एकमात्र दमकल मात्र सक्रिय रूपमा कार्यरत छ। यस्तो अवस्थामा आगलागीको घटना हुँदा प्रभावकारी रूपमा तत्काल नियन्त्रण गर्न नसकिने समस्या छ, जसको प्रत्यक्ष असर जनधनको क्षतिमा परिरहेको छ।
ग्रामीण भेगमा दमकल नपुगेका कारण सामान्य आगलागीले विकराल रूप लिने अवस्था सिर्जना हुनु नियतिसरह भएको छ। कहिलेकाहीँ त भरतपुर महानगरपालिका, चितवनबाट दमकल मगाउनुपर्ने अवस्था आउँछ, जसमा समयमै आगो निभाउन नसक्दा लाखौंको क्षति भईरहेकाे छ। दमकल समयमै नपुग्दा नागरिकहरू आफैं पानी बोकेर आगो निभाउने प्रयासमा लाग्नुपर्ने स्थिति आजको आधुनिक युगमा लाजमर्दो दृश्य हो।
नवलपुरका स्थानीय तहहरूले ‘बजेट अभाव’ लाई कारण देखाउँदै दमकल नकिनेको जिकिर गरे तापनि, यो विषय उनीहरूको प्राथमिकतामै नपरेको देखिन्छ। विपद् व्यवस्थापन सरकारको नीति तथा कार्यक्रममा समावेश भएको भए पनि नवलपुरका स्थानीय तहमा यसको कार्यान्वयन कमजोर देखिनु प्रशासनिक उदासीनताको उदाहरण हो।
आगलागी नियन्त्रण केवल दमकलको उपस्थिति मात्र नभई, प्रशिक्षित जनशक्ति, तत्काल सूचना प्रवाह प्रणाली, पूर्व तयारी तालिम, र जनचेतनासँग पनि जोडिएको विषय हो। विगतका घटना र त्यसबाट भएको क्षति केवल तथ्य होइनन्, ती भविष्यका लागि चेतावनी हुन्।
अब समय आएको छ कि जिल्लाका सबै स्थानीय तहहरूले कम्तीमा एउटा दमकल अनिवार्य रूपमा व्यवस्था गर्नुका साथै आपत्कालीन व्यवस्थापन पूर्वाधार विकासमा गम्भीरता देखाउनुपर्छ। संघीय सरकार र प्रदेश सरकारले पनि यसतर्फ स्पष्ट योजना ल्याएर सहयोग गर्नुपर्छ।
हालका दिनमा नवलपुर जिल्लामा भइरहेका आगलागीका घटनाहरूले केवल बासस्थान, पशुधन र संरचनामा क्षति पुर्याइरहेका छैनन्, गण्डकी प्रदेशकै एक प्रमुख बन क्षेत्रलाई समेत गम्भीर जोखिममा पार्दै आएकाे छ विशेषतः चुरे क्षेत्र, मध्यवर्ती वन तथा राष्ट्रिय निकुञ्ज आसपासका बनहरूमा लागेको आगोले जैविक विविधता, वातावरण, वन्यजन्तु र स्थानीय जीवनशैलीमा दीर्घकालीन असर पार्न थालेको छ।
नवलपुरको वन क्षेत्र गण्डकी प्रदेशको हरियाली र जैविक धरोहर हो। यसलाई जोगाउनु हाम्रो साझा दायित्व हो। आगलागी जस्तो मानव-प्रेरित संकटलाई सचेतता, सजगता र सहकार्यबाट मात्रै नियन्त्रण गर्न सकिन्छ। यदि अहिले गम्भीरताका साथ कदम चालिएन भने नवलपुरको बन क्षेत्रले अपूरणीय क्षति व्यहोर्नु पर्नेछ।
नवलपुर, विशेष गरी चितवन राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र र दायाँबायाँ फैलिएका सामुदायिक बनहरू काठको दृष्टिले अति धनी क्षेत्र मानिन्छ। डिभिजन बन कार्यालयमार्फत हरेक वर्ष करोडौं मूल्य बराबरको काठ बिक्री हुने तथ्याङ्क आफैंमा अर्थपूर्ण छ। तर यति विशाल वनसम्पदा र आर्थिक कारोबार हुँदा हुँदै पनि डिभिजन बन कार्यालयमा दमकलजस्तो अत्यावश्यक उपकरणको अभाव हुनु राज्यको व्यवस्थापकीय कमजोरीको प्रतिविम्ब हो।
वन क्षेत्रमा आगलागीको जोखिम हरेक वर्ष वसन्त र गर्मीको समयमा अत्यधिक हुन्छ। एकचोटि आगो लागेपछि त्यसले वन्यजन्तु, काठ, बोटबिरुवा, जैविक विविधता मात्र होइन, मानव बस्ती, स्वास्थ्य र जलवायुमा समेत दीर्घकालीन असर पुर्याउँछ। यस्तो बेला तुरुन्त नियन्त्रणका लागि दमकलको उपस्थिति अपरिहार्य हुन्छ जबकि डिभिजन बन कार्यालयमै अहिले सम्म दमकल छैन,
सरकारी हिसाबले करोडौंको काठ बिक्री हुँदा पनि त्यसबाट केही अंश दमकल जस्तो उपकरणमा लगानी नगर्नु राज्यले वन व्यवस्थापनलाई नगद संकलनको माध्यममात्र ठानेको देखाउँछ। वनका रक्षकहरू सशक्त उपकरणविहीन छन् भने उनीहरूलाई कसरी दायित्वपूर्तिको अपेक्षा गर्ने?
नवलपुरजस्तो वनसम्पदाले भरिपूर्ण जिल्लामा डिभिजन बन कार्यालयमै दमकल नहुनु दुर्भाग्यपूर्ण मात्र होइन, जनजीवन र वातावरणप्रति गैरजिम्मेवारपूर्ण अवस्थाको संकेत हो। राज्य, स्थानीय सरकार र सरोकारवालाहरूले अब ढिलो नगरी वन सुरक्षामा पूर्वाधार, स्रोत र जनशक्ति लगानी गर्नुपर्छ — नत्र वन डढेलो मात्र होइन, भविष्य पनि खरानी हुन बेर लाग्दैन।
नवलपुरले हरेक आगलागीको घटनाबाट पाठ सिक्दै अब विपद् व्यवस्थापनलाई व्यवहारिक कार्यान्वयनमा लैजानु अत्यावश्यक भइसकेको छ। अन्यथा, आगो निभाउने हैन, आँसु पुछ्ने काम मात्रै बाँकी रहनेछ।
प्रकाशित : २०८१ चैत २३ गते ८:३१
Facebook Comment