झ्यापझ्याप बिजुली काटिएपछि विद्युत् प्राधिकरण कावासोती घेराउ

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ ३० गते १४:२५
झ्यापझ्याप बिजुली काटिएपछि विद्युत् प्राधिकरण कावासोती घेराउ

कावासोती । कावासोतीका स्थानीयले विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।

अत्याधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त भएरहेका बेला कावासोतीमा साँझ तथा रातको समयमा दैनिकजसो पटक पटक विद्युत सेवा खवरुद्ध हुन थालेको भन्दै स्थानीय उपभोक्ताले बुधवार राति नारावाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

मंगलबारदेखि नवलपुरमा अत्याधिक गर्मी बढेको छ भने लाईन पनि पटक पटक काटिने गरेको छ । यहाँ अहिले न्यूनतम तापक्रम २९ डिग्री र अधिकतम तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

मंगलबार साँझदेखि राति ११ बजेसम्म १८ पटकसम्म लाईन काटिएको स्थानीय उपभोक्ता राम कुमार श्रेष्ठले गुनासो गरे । श्रेष्ठले बुधबार साँझदेखि राति १० बजेसम्म १२ पटक झ्यापझ्याप बिजुली काटिएको बताए ।

लाईन आउन नपाई काटिने समस्याले आफुहरु दिक्क भएकोले कार्यालय घेराउ गर्नु परेको अर्का स्थानीय अनमोल थापा मगरले बताए । उनीरुले बुधवार राति १० देखि ११ बजेसम्म कार्यालयमा नारा जुलुससहित घेराउ गरेका थिए ।

तर प्राधिकरणले भने बिहीवार बेलुकदेखि समस्यामा कमि आउने दावी गरेको छ । प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले बिहीवार साँझदखि समस्यामा कमि आउने बताए ।

लाईनमा समस्या आएकोले पत्ता लगाउने क्रममा विजुली आउने जाने समस्या भईरहेको मण्डलको भनाइ छ । ३५ मेघावाटसम्म लोड भएको र कावासोतीमा यो अहिलेसम्कै बढी रहेको मण्डलले बताए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कावासोती नगर कमिटले प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको छ । विना पूर्व सूचना विद्युत आपूर्ती बन्द गर्नुको कारण, बन्द गर्नु अघि सूचना दिनु पर्ने, उपभोक्ताले फोन गर्दा सम्बोधन गर्नु पर्ने लगायत ८ बुदे माग राखेर प्राधिकरणलाई ज्ञापन पत्र बुझाएको रास्वपा कावासोती नगर कमिटी अध्यक्ष मोहन बस्नेतले जानकारी दिए ।

प्रकाशित : २०८२ जेठ ३० गते १४:२५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI