नवलपुर नमुना सदरमुकाम निर्माणको क्रममा स्थानीयवासीले परापूर्वदेखि चर्चिंदै आएको मूलबाटो बन्द गरी कम्पाउण्ड वाल निर्माण गर्ने योजना अघि बढाएपछि उनिहरू आक्रोशित भएका छन्। निकास रोकेर कस्तो खालको विकास गर्न खोजेको हो भन्दै सरोकारवालाहरू शुक्रवार सम्बन्धीत निकायमा डेलिगेशन गएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण सम्बन्धी कार्य चितवनको सघन शहरी तथा भवन निर्माण आयोजनाले हेर्दै आएको छ। आयोजनाका इन्जिनियरले स्थलगत अवस्था नबुझी कोठामा बसेर नक्सा कोर्दा यस्तो परिस्थिति सृजना भएको स्थानीय चुडा बहादुर बस्नेतले आक्रोश पोखे।

कावासोती नगरपालिका ३ मा नुमुना सदरमुकाम निर्माण कार्य भैरहेको छ। पुरानो कावासोती बजारबाट हँसौरा जाने मूलबाटोनै बन्द गर्ने गरि आयोजनाले निर्माण कार्य अघि बढाएको छ। स्थानीयले चर्चिंदै आएको, आंशिक रूपमा कालोपत्रे समेत भएको बाटो बन्द गरेमा त्यसको कडा प्रतिकार गरिने साजन महतोले चेतावनी दिए।
पुरानो कावासोती बजारको मूलबाटोबाट सदरमुकाम प्रवेश गर्ने गरी (प्रवेश द्वार) गेट निर्माण गरिदिन कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले आयोजनालाई लिखित सिफारिस गरिदिएका छन्। स्थानीयवासीको भेलाको निर्णय र पालिकाको सिफारिस लिएर युवाहरू चितवनको आयोजना कार्यालयमा डेलिगेशन गएका हुन्।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका कार्यालय प्रमुख कृष्ण महर्जनले स्थानीयहरूको अनुरोध सुनेपछि आफुले यसबारेमा आवश्यक पहल गर्ने आश्वासन दिए। पुरानो बजारको मूल बाटोबाट सदरमुकाम पस्ने गेट निर्माणमा आफू सकारात्मक रहेको उनले बताए। भ्याट बाहेक कुल ३ अर्ब ८७ करोड ९० लाख १३ हजार ४ सय एकसठ्ठी रूपियाँको लागतमा सदरमुकाम निर्माण कार्य अघि बढिरहेको छ।
निर्माण कम्पनीहरू चौधरी कन्सट्रक्सन रौतहट र समानन्तर बुद्व हिमाली जे.भी. ले निर्माण कार्य अघि बढाइरहेका छन्। तर चौधरी कन्सट्रक्सनको काम सन्तोषजनक नरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी गराए। हाल निर्माण भैरहेका भवन तथा संरचनाहरू ८४ कार्तिक २१ सम्ममा सम्पन्न भैसक्ने लक्ष्य लिइएको छ।
हाल निर्माण भइरहेका भवनहरूमा नवलपुर जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समिति रहेका छन्। त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रधानमन्त्री कृषि कार्यालय, आवासीय भवनहरू,सभाहल र सघन शहरी तथा भवन निर्माण आयोजनाको फिल्ड कार्यालय रहेको छ।

यस अतिरिक्त केरूङ्गे खोलामा १ हजार ५ सय मिटर तटबन्ध, सडक कालो पत्रे, नाला, फुटपाथ, विधुत,खानेपानी, प्रत्येक कार्यालयको कम्पाउण्ड वाल र सम्पूर्ण सदमुकाम १ सय ८६ बिगाहा घेर्ने गरि बाहिरी कम्पाउण्ड वालको काम पनि निर्धारित समयभित्रै सम्पन्न गर्नेगरि धमाधम भैरहेको आयोजना कार्यालयले जानकारी गराएको छ।
Facebook Comment