देवचुली नगर अस्पतालले आजबाट नयाँ भवनबाट सेवा थाल्यो

देवचुली नगर अस्पतालले आजबाट नयाँ भवनबाट सेवा थाल्यो

नवलपुर, पौष १४
नवलपुरको देवचुली नगरपालिकामा निर्माण सम्पन्न भएको नयाँ देवचुली नगर अस्पतालले आजदेखि औपचारिक रूपमा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गरेको छ। नगर प्रमुख हरी न्यौपानेले एक कार्यक्रमबीच अस्पताल भवनको उद्घाटन गर्दै सेवा सञ्चालनको शुभारम्भ गरेका हुन्।

नगर अस्पताल सञ्चालनमा आएपछि नगरवासीसँगै आसपासका स्थानीय तहका नागरिकहरूलाई समेत आधारभूतदेखि आकस्मिक स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध हुने भएको छ। यसले सामान्य उपचारका लागि समेत टाढा–टाढाका अस्पताल धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास नगरपालिकाले लिएको छ।

Messenger creation EAF71D0A 1F98 4D9B 8975 D9CF2174C864

नगरपालिकाका अनुसार प्रारम्भिक चरणमा अस्पतालबाट ओपीडी सेवा, आकस्मिक सेवा, प्रयोगशाला सेवा, प्रसूति सेवा, दन्त सेवा लगायतका महत्वपूर्ण तथा आधारभूत स्वास्थ्य उपचार सेवा उपलब्ध गराइनेछ। आवश्यकताको आधारमा क्रमशः विशेषज्ञ सेवाहरू समेत विस्तार गर्दै लैजाने योजना रहेको नगर प्रमुख हरी न्यौपानेले जानकारी दिए।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख हरी न्यौपानेले नगर अस्पताल सञ्चालनमा आएपछि देवचुली नगरपालिकासहित समग्र नवलपुर जिल्लाको स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे।

“अब सामान्य उपचारदेखि आकस्मिक अवस्थासम्मका सेवाका लागि नागरिकले टाढा–टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हट्नेछ,” नगर प्रमुख न्यौपानेले भने, “नगर अस्पताललाई क्रमशः सुविधा सम्पन्न बनाउँदै विशेषज्ञ चिकित्सक सेवा, अत्याधुनिक उपकरण तथा आवश्यक जनशक्ति थप गर्दै लैजान नगरपालिकाको पूर्ण प्रतिबद्धता छ।”
उनले नगर अस्पताललाई केवल उपचार केन्द्रको रूपमा मात्र नभई नगरवासीको स्वास्थ्य सुरक्षाको भरोसायोग्य आधारका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए।

नगरपालिकाका अनुसार करिब १४ करोड १० लाख रुपैयाँको लागतमा देवचुली नगर अस्पतालको भवन निर्माण सम्पन्न गरिएको हो। आधुनिक पूर्वाधार, व्यवस्थित सेवा कक्ष तथा आवश्यक स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएको यस नगर अस्पतालले देवचुली नगरपालिकाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

अस्पताल उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology