नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौली सडकको बीचमा रहेको जिर्ण विद्युत पोल नफेर्दा स्थानीय त्रसित भएका छन् । बीच सडकमा रहेको पोल जिर्ण भएर सामान्य हावाहुरीमा पनि जुनसुकै बेला भाँचिन सक्ने अवस्थामा पुगेको छ ।
तर पोल फेर्न विद्युत प्राधिकरणले चासो नदिँदा स्थानीय वस्ती नै जोखिममा परेको देवचुली–२ का वडाध्यक्ष शरदप्रसाद घिमिरेले बताए । ‘‘हामीले वडा कार्यालयबाट पटक पटक पोल फेरिदिनका लागि प्राधिकरणलाई लिखित आग्रह गर्यौं, तर प्रकृया पुर्याएर गछौं भन्दै प्राधिकरणले टारिरहेको छ,’’ अध्यक्ष घिमिरेले भने, ‘‘दुई तिरबाट तारले तानेको हुँनाले अहिलेसम्म ढलेको छैन, कुनै पनि बेला सामान्य हावाहुरीले पनि पोल ढलेर वस्तीमा क्षति गर्न सक्छ ।’’
अध्यक्ष घिमिरेका अनुसार कुकुरले पोलमा पिसाव फेर्ने गरेका कारण फलामको पोल जिर्ण अवस्थामा पुगेको हो ।
तर विद्युत प्राधिकरणले भने काम गर्ने मान्छे नपाएर पोल फेर्न नसकेको बताएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख शिव नारायण गोसलीले यो लगायत अरु ठाउँमा पनि यस्तै मक्किएका पोल रहेको र फेर्नका लागि प्राधिकरणको प्राथमिकतामै रहेको बताए ।
‘‘यो लगायत अन्यत्र पनि जिर्ण अवसथामा रहेका पोलहरु फेर्नु पर्ने अवस्थामा छन्, तर दशै तिहारअघि नै फेर्ने भनिए पनि काम गर्ने मान्छे नपाएर फेर्न सकिएको छैन,’’ प्रमुख गोसलीले भने, ‘‘यो हाम्रो योजनामै छ, कन्ट्रयाक्टर आउने क्रममै भएकोले आएपछि फेछौं ।’’
Facebook Comment