कावासोती । नारायणघाट बुटवल सडक बिस्तारको जिम्मा पाएको चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले सडक बिस्तारको काम सम्पन्न गर्न थप एक वर्षको समय पाएको छ । यो सँगै आयोजनाको म्याद चौथो पटक थपिएको हो ।
आयोजना निर्देशनालयको पुर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्ड गैंडाकोटदेखी दाउन्नेसम्मको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्ड दाउन्ने देखी बुटवलसम्मको म्याद २०८३ साउन ५ सम्म थपिएको हो ।
सडक विभाग स्रोतका अनुसार निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा ९० प्रतिशत काम सक्ने सहमति गरेपछि म्याद थपिएको हो । आयोजनाको तेस्रो पटक थपिएको म्याद यहि साउन ८ गते सकिएको थियोे । तेस्रो पटक थपिएको म्याद सकिदा सम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत रहेको छ ।
निर्माण कम्पनीले एक सय १३ किलोमिटर सडक निर्माणको काम सजिलो होस भनेर दुई खण्डमा बाँडेर काम गरिरहेको छ ।
एक सय १३ किलोमिटर सडक मध्ये असार मसान्त सम्म एकतर्फी एक सय किलोमिटर सडक कालोपत्रे भएको छ भने दुवै तर्फ भने ८० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
आयोजनाको सबै भन्दा कठिन मानिएको दाउन्नेमा सडक ढलानको काम धमाधम भइरहेको छ। गत दुई सातादेखि ठूलो वर्षा नपरेकाले राजमार्ग ढलानको कामले तीव्रता लिएको हो। पूर्वीखण्डमा ४ किलोमिटर र पश्चिमखण्डमा ३ किलोमिटर ढलान गर्ने तयारी छ । अहिले पूर्वी खण्डमा ८ सय मिटर र पश्चिम खण्डमा १.३ किलोमिटर ढलान भइसकेको छ । ठाडो उकालो भएका कारण ढलान सडक टिकाउ हुने भएकाले यस क्षेत्रमा प्राथमिकताका साथ ढलान सडक निर्माण भइरहेको छ। दाउन्ने खण्डमा पर्ने करिब १४ किलोमिटर सडकमध्ये पश्चिमतर्फ करिब ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। ठाडो उकालो र बढी पानी बग्ने स्थानमा ढलान सडक निर्माण गरिएको हो ।
दाउन्नेमा आउँदो दसैँ अघि नै राजमार्ग कालोपत्रे भइसक्ने गरी काम हुने आयोजना आयोजना निर्देशनालयले जनाएको छ । पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको बुटवल-नारायणगढ सडक निर्माणको काम १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो।
प्रकाशित : २०८२ साउन १९ गते ११:४०
Facebook Comment