दाउन्नेमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, १५ घाइते

दाउन्नेमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, १५ घाइते

नवलपुर । पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा आज बिहान करिब १ बजे भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार पूर्वबाट पश्चिम (बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक, लु २ ख २३५१ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ नम्बरको पिकअप गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। ट्रक र बसले पिकअपलाई ठक्कर दिएपछि दुबै सवारी करिब २०० मिटर तल खसेका थिए।

दुर्घटनामा परी रोल्पा बागमाराका २५ वर्षीय गोबिन बुढा र पहिचान नखुलेका करिब २५/२६ वर्षका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पृथ्वीचन्द्र अस्पताल, परासीमा राखिएको छ।

घाइतेमध्ये बस चालक रोल्पा माडीका २४ वर्षीय हिमाल घर्ती, १९ वर्षीय किरण पुन, परिवर्तन–४ का मरिचमान घर्ती, ४८ वर्षीया सुशिला नेपाली, ५८ वर्षीय मोतिलाल डाँगी, ६२ वर्षीय झुपबहादुर घर्ती र ६२ वर्षीय तीर्थबहादुर पुन रहेका छन्।
त्यस्तै अन्य घाइतेमा ट्रक चालक बर्दिया बारबर्दिया–७ का २४ वर्षीय सागर चौधरी, १९ वर्षीय जीवन चौधरी, कञ्चनपुर कृष्णपुर–६ का २८ वर्षीय लोकराज ओझा, काठमाडौंका २८ वर्षीय लक्ष्मी खत्री, दाङ घोराही–३ का ४९ वर्षीय खिमबहादुर नेपाली र एक अन्दाजी २५ वर्षीया अज्ञात महिला छन्। मध्यम अवस्थाका उनीहरूको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी चितवन इच्छामनकामना–१ का ३१ वर्षीय विशाल चेपाङ र पिकअप चालक चितवन रत्ननगरका २९ वर्षीय आशिष गुरुङ सामान्य घाइते भएका छन्। उनीहरूको चिसापानी अस्पताल, बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology