नयाँ नेतृत्व र नीति सहित आएको कांग्रेस “आईफोन १७ प्रोम्याक्स जस्तै नयाँ भर्सन हो” : घर्ती

NAWALPUR TIMES

नयाँ नेतृत्व र नीति सहित आएको कांग्रेस “आईफोन १७ प्रोम्याक्स जस्तै नयाँ भर्सन हो” : घर्ती

 कावासोती । नेपाली कांग्रेसले यस निर्वाचनमा नयाँ नेतृत्व र नीति सहित प्रतिस्पर्धा गरिरहेको भन्दै काँग्रेसलाई “आईफोन १७ प्रोम्याक्स” जस्तै आधुनिक र सक्षम पार्टी भएको दाबी नवलपुर क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले गरेका छन् ।

नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिइरहेका कांग्रेस उम्मेदवार ओमबहादुर घर्ती मगरले पत्रकार राजेन्द्र बानियाको इलेक्सन हार्ड टक कार्यक्रममा अन्तर्वार्ता दिँदै काँग्रेसलाई अहिलेको राजनीतिक आवश्यकतासँग मेल खाने पार्टीको रूपमा प्रस्तुत गरेका छन् ।

कार्यक्रमका क्रममा पत्रकार बानियाको प्रश्न “केही मतदाताले काँग्रेसलाई पुरानो ‘नोकिया फोन” जस्तै भन्छन् भनेको भन्ने प्रश्नमा, घर्तीले कांग्रेसलाई “एप्पल कम्पनीले नयाँ हार्डवेयर र सफ्टवेयरसहित आईफोन १७ प्रोम्याक्स बनाउँछ” भनेर उदाहरण दिँदै यस्तै काँग्रेसले पनि आफ्नो नेतृत्व, नीति र संगठनात्मक रूपान्तरण गरेर आफूलाई नयाँ ढंगले प्रस्तुत गरेको बताएका छन् ।

उनले भनेका छन्, “हाम्रो पार्टीले विधिसम्मत प्रक्रिया, महाधिवेशन र परम्परागत सोचबाट बाहिर निस्केर परिवर्तन र नवप्रवर्तनको बाटो अपनाएको छ । आजको काँग्रेसले समयसापेक्ष सोच, नेतृत्व र उत्तरदायित्व सहित जनताको समस्यालाई समाधान गर्ने पार्टी बन्ने लक्ष्य राखेको छ ।”

अन्तरवार्तामा घर्तीले काँग्रेसको वर्तमान नेतृत्व र नीति परिवर्तनलाई समयको आवश्यकता र जनताका अपेक्षासँग मेल खाने ठहराउँदै, पार्टीलाई पुरानो ढङ्गको राजनीतिक दलभन्दा धेरै आधुनिक, उत्तरदायी र जनमुखी पार्टीको रूपमा अघि बढिरहेको बताएका थिए ।

 अन्तरवार्ताका क्रममा घर्तिले बिध्यार्थी राजनीति हुँदै राष्ट्रिय नेपाल मगर संघ,  लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको नेतृत्वमा पुगेको, स्थानीय भएका कारणले पनि भुईमान्छेको  मुद्धा, समस्यासँग आफु नजिकबाट जानकार रहेको दावी गरे ।  निर्वाचन जित्ने कुरामा ढुक्क देखिएका उनले निर्वाचन जिते पछि नवलपुर २, सिङ्गो नवलपुरको विकास र विधायकि भुमिकामा कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्व प्रकाश शर्मा संगको निकट रहेर काम गरेका घर्ती हुप्सेकोट १ बेलुवाका स्थायी बासिन्दा हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology