नदी कटान र मध्यवर्तीको समस्या दीर्घकालीन समाधान गर्ने घर्तीको प्रतिबद्धता

NAWALPUR TIMES

नदी कटान र मध्यवर्तीको समस्या दीर्घकालीन समाधान गर्ने घर्तीको प्रतिबद्धता

कावासोती । नदी कटान नियन्त्रण, निकुञ्ज प्रभावित क्षेत्रका समस्या र सुकुम्बासी व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न ऐन–कानुन संशोधन आवश्यक रहेको उल्लेख गर्दै नेपाली कांग्रेसका उम्मेदवार ओम बहादुर घर्तीले निर्वाचनपछि नीतिगत र संरचनागत सुधारमार्फत विकासका काम अघि बढाइने बताएका छन्।

आइतबार मध्यविन्दु नगरपालिका–२ र ४ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा मतदाताहरूको जिज्ञासाको जवाफ दिँदै घर्तीले यस क्षेत्रको दीर्घकालीन समस्याका रूपमा रहेको नारायणी नदी कटानलाई वैज्ञानिक तवरबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नदी कटान नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध निर्माण गर्नुका साथै तटबन्धसँगै करिडोर विकासको काम अघि बढाइने बताए। साथै, वर्षौँदेखि नदी कटानबाट प्रभावित भए पनि क्षतिपूर्ति नपाएका पीडितलाई कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउन आफूले सक्रिय पहल गर्ने स्पष्ट पारे।

नारायणी नदी तटीय क्षेत्र तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले विगतदेखि भोग्दै आएको समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली संशोधन आवश्यक रहेको उल्लेख गर्दै घर्तीले यस विषयलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए।

त्यसैगरी, लामो समयदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या विद्यमान ऐन–कानुन संशोधन नगरी समाधान सम्भव नरहेकाले निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारबाट यस क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले आफूलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरे।

कार्यक्रममा घर्तीले गिरुबारी खोला, अरुणखोला र डन्जर खोलामा तटबन्ध निर्माण गरिने योजना सार्वजनिक गर्दै आधुनिक कृषि प्रणाली प्रयोग गरी कृषिलाई व्यवसायिकरण गरिने र यसबाट किसानको जीवनस्तर उकासिने विश्वास व्यक्त गरे।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology