सिचाइलाई नपुग्ने भन्दै खानेपानी आयोजनालाई पानीको मुल नदिदा आयोजना अलपत्र

बोमलाल गिरी
प्रकाशित : २०८२ जेठ १२ गते १७:५८
सिचाइलाई नपुग्ने भन्दै खानेपानी आयोजनालाई पानीको मुल नदिदा आयोजना अलपत्र

कावासोती । ‘‘अव वर्षा लाग्दैछ, अहिलेसम्म खोल्साखोल्सीको पानीले जसोतसो गुजारा चल्दैछ । तर जब हिउँद लाग्छ, कसरी पिउने पानीको जोहो गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ, मुहानमा विवाद भयो रे भन्छन्, मानवीय हिसावले पनि पिउनलाई पानी दिनु पर्ने हो,’’ नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ११ की दुर्गा शर्माले गुनासो पोखिन्।

मध्यबिन्दुको वडा नं. ११ र १४ मा अहिले यस्तै पानी विवाद छ । भूगोलमा आफूहरूभन्दा माथि रहेको १४ नं. वडाले पिउने पानी नदिँदा ११ नम्बर वडाले समस्या झेलिरहेको छ । वडा नम्बर ११ को द्वारदह, दमार र स्कुल डाँडीका चार सय घर धुरीका दुई हजार पाँच सय जनाका लागि पिउने पानीको व्यवस्था गर्न झण्डै सात करोड लागतको केन्द्रीय बजेट पनि पर्यो ।

त्यही बजेटबाट खाने पानीको भवन बनाइयो, पाइप विच्छ्याइयो तर जलुके गेजाटारमा रहेको मुहानसँग पाइप जोड्न १५ सय मिटर मात्र बाँकी रहँदा १४ नम्बर वडाका वासिन्दाले पानी नदिएको द्वारदह, दमार, स्कुल डाँडी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष मिनप्रसाद अर्यालले बताए । अर्यालका अनुसार १४ नम्बरले आफूहरुलाई सिंचाइका लागि नपुग्ने भन्दै ११ नम्बरलाई पिउने पानी नदिएको हो । खानेपानी आयोजना शुरु गरेको पनि तीन वर्ष पुरा भइसकेको छ । तर लामो समयसम्म आयोजना पूर्ण नहुँदा बजेट खेर जाने अवस्थामा पुगेको अर्यालले बताए ।

११ नम्बरका स्थानीय ओम बहादुर मल्ल ठकुरीले १४ नम्बरका जनताले आफूहरुले भोगचलन गरेको पानी दिँदा सिंचाईमा समस्या हुने भन्दै नदिएको बताए । १४ नम्बरका वासिन्दाले जलुके गेजाटार मुहानको पानीले आफूहरुको ६५ विघा जमिनमा सिंचाई गर्नु पर्ने भएकाले दिन नसकिने बताएको उनले जानकारी दिए ।

१४ ले ६५ विघा भने पनि जग्गा भने २०/२५ बिघाभन्दा बढी नभएको ठकुरीको भनाइ छ । १४ नम्बर वडाको द्वारी टोल विकास समितिका अध्यक्ष श्याम बहादुर कानु मगरका अनुसार यहाँ सिंचाई गर्न पर्ने झण्डै ४५/५० विघा जमिन रहेको छ ।

समस्या समाधानका लागि नगरपालिका र वडाले अनेक प्रयास गर्दा पनि सफल नभएको ठकुरीको भनाइ छ । ‘‘नगरपालिकाले तपाईँहरूलाई सिंचाई पुगेनछ भने बरु खाने पानी बन्द गर्नु होला त्यसका लागि अरु विकल्प खोजौं भन्दा पनि मानेनन्,’’ उनले सुनाए ।

११ नम्बरका अध्यक्ष महेश्वर भुसालले अनेक प्रयास गर्दा पनि आफ्नो वडाका वासिन्दालाई पानी खुवाउन नसकेको बताए । ‘‘२०७७ सालदेखिको कुरा हो, अनेक प्रयास गरिरहेका छौं, नगरमा पनि कुरा राखिरहेको छु, अध्यक्ष भुसालले भने, ‘‘माथिका उपभोक्ताले सिंचाई गर्ने पानी पुग्दैन भन्दै दिनै मान्दैनन् ।’’

१४ नम्बरका अध्यक्ष मिन बहादुर दर्लामीले छलफलका लागि बोलाउँदा पनि आफ्नो पालिकाका उपभोक्ता नआएको बताउँनछन् । ‘‘छलफलका लागि पटक पटकको प्रयास पनि सफल हुन सकेन, बरु भिडन्तको अवस्था सृजना हुन थाल्यो,’’ अध्यक्ष दर्लामीले भने, ‘‘छलफलमा किन नआएको भन्दा छलफलमा पनि आउन्नौं, पानी पनि दिन्नौं भन्नुहुन्छ, जर्बजस्ती गर्न पनि मिलेन । उहाँहरुले दिनुहुन्छ जस्तो लाग्दैन, अव अन्यत्रबाटै विकल्प खोज्नु पर्छ ।’’

अहिले पानी दिइयो भने सधैभरीलाई दिनु पर्छ भन्ने परम्परागत सोचका कारण दुई वडाबीच बिवाद भएको वडा नम्बर १३ का अध्यक्ष अर्जुन प्रसाद पंगेनीको बुझाई छ । पानीको प्रयाप्त स्रोत भए पनि प्राकृतिक स्रोतमाथि आफ्नो बिर्ता सम्झने काम भएको पंगेनीले बताए । अव राजनीति नहेरी जुन सुकै पार्टीको भए पनि नगरपालिकाले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने उनको सुझाव छ ।

तर १४ का वासिन्दाले भने कुनै हालतमा पनि पानी नदिने अडानमा छन् । द्धारी टोल विकास समितिका अध्यक्ष श्याम बहादुर कानु मगरले भिड्न परे भिड्ने तर पानी नदिने मनस्थितिमा यहाँका वासिन्दा रहेको बताउँछन् ।  ।

‘‘४०/४५ घर धुरी रहेको यहाँका वासिन्दा अन्त पानी नदिनेमा एक जुट छन्, परिआए भिड्न तयार छन् तर कुनै पनि छलफल वा वार्तामा बस्न मञ्जुर छैनन्,’’ अध्यक्ष मगरले भने । आयोजना सुरु गर्ने बेलामा परामर्श नगर्दा पनि १४ वडाका वासिन्दा रुष्ट बनेका मगरको बुझाई छ ।

तर नगरपालिका भने अझै पनि छलफलबाटै निकास निकाल्न सकिन्छ कि भनेर लागिरहेको मध्यबिन्दुका नगर प्रमुख भिमलाल अधिकारीले बताए । ‘‘यहाँ केही समस्या देखिएको छ, हामी वार्तामार्फत समाधान निकाल्ने प्रयासमै छौं, नगरप्रमुख अधिकारीले भने ।

प्रकाशित : २०८२ जेठ १२ गते १७:५८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI