गाली गरेर देश बन्छ!

सुदिप चापागाईं
प्रकाशित : २०८२ वैशाख १९ गते २१:३९
गाली गरेर देश बन्छ!

सामाजिक सञ्जाल आजकल गाली गलौजले भरिपूर्ण देखिन्छ। राजावादी, गणतन्त्रवादी, पुराना पार्टी, नयाँ पार्टी, नयाँ-पुराना नेता, कर्मचारी ई. कमेन्टका गालीबाट कोही अछुतो छैनन्। कतिपय गालीहरू त यति निम्नस्तरका हुन्छन् जसले समाजमा खुला रूपमा हिंसा भड्काउन सक्छन्। आलोचना गर्नु र क्रोध पोख्नु स्वाभाविक हो, तर यसको शैली र सीमा नैतिक हुन जरुरी छ। खुला समाजमा मत राख्न पाइन्छ, तर त्यसले अरूको अस्तित्वको अपमान गर्नु हुँदैन।

व्यवस्थालाई लामो समय कुर्दा कुर्दै अवस्था परिवर्तन नभएको भन्दा पनि हिजो र आजका व्यवस्थामा एउटै मान्छेहरू पटक-पटक सत्ता चलाइरहेका र तिनैबाट अपेक्षित देश परिवर्तन नभएको देख्दा जनता बढी आक्रोशित छन्। जनताले संघीय गणतन्त्रबाट स्थायीत्वको अपेक्षा राखे तर त्यही व्यवस्थामा १५ जना प्रधानमन्त्री परिवर्तन भैसकेका छन, जसमध्ये धेरै राजतन्त्रबाट आएर दोहिरिएका छन । जसले गर्दा राजाका पक्षधर आजकल खुलेरै सडकमा आउन लागेका देखिन्छन भने जनतामा पनि निराशा थपिएको छ ।

आजको सञ्जाल यति नकारात्मक हुनुका पछाडि तिनै नेताहरू हुन् जसले हिजो “१० वर्षमा सिंगापुर बनाउँछौं” भनेर ताली खाएका थिए, चोकचोकमा आफ्ना आश्वासन कार्यकर्ताद्वारा गफका रूपमा सुनाएर आफू सदैव उपल्लो पदमा बिराजमान हुने गर्थे। एकातिर ती नेताले आफैले बोलेका शब्द पूरा नगर्ने अनि अर्कोतिर जनताले समृद्ध मुलुकको विकास, राजनीति, व्यवस्था आदिलाई नजिकबाट नियाल्न पाउँदा आज धेरै नेपाली राजनीतिक दल र नेताप्रति आक्रोशित छन ।

आजको जनताको यो मनस्थिति आउनुमा लोकरिझ्याइँमा रमाउने नेताको केही हात पक्कै छ। अर्कोलाई गाली गरेरै ताली कमाउने प्रवृत्तिले समाज नै भड्किरहेको छ। विशेषतः रिस एउटै पदमा बारम्बार बस्ने नेताहरूमा हो, जुन भाइरस झैँ अन्य क्षेत्रतर्फ पनि फैलिँदै गएको छ।

हामी जनताले पनि केही कुरा मनन गर्नुपर्ने छ। सर्वप्रथम, सबै राजनीतिक दल एउटै हुन्, सबैमा उस्तै चरित्र छ भन्ने धारणा परिवर्तन गर्न जरुरी छ। राजनीतिक दलहरूका विचार आफैंमा प्रायः नराम्रा हुँदैनन्; त्यो विचारलाई कार्यान्वयन गर्ने नेतृत्व कस्तो छ भन्ने कुरामा मुख्य भिन्नता हुन्छ।

हुन त आज देशमा प्रविधिको आगमनले हामीले संसारलाई घरमै बसेर नियालिरहेका छौँ। कहिलेकाहीँ लाग्छ, हामी निकै पछाडि परेका छौँ, र यसको मुख्य कारण मुलुकको हालको राजनीति नै हो। तर यसका पछाडि केही ऐतिहासिक कारणहरू छन्। १९औं शताब्दी भन्दा पहिले सम्म नेपालमा शिक्षाको औपचारिक पहुँच सामान्य जनतासम्म पुगेको थिएन। जब विश्वका अन्य देशहरू उच्च शिक्षासम्म पुगिसकेका थिए, हामी अझै प्राथमिक साक्षरताका लागि संघर्ष गरिरहेका थियौं।

हाम्रो शिक्षाको इतिहास लामो छैन। १२औं सताब्दीमा जतिबेला नेपालमा मल्ल वंशका राजा थिए, त्यतिबेला अक्सफोर्ड विश्वविद्यालय खुलिसकेको थियो। हाम्रो औपचारिक शिक्षाको सुरुआत १९ औँ शताब्दीको अन्त्यतिर मात्र भएको हो। अमेरिका, बेलायत जस्ता देशहरूमा १७ औँ शताब्दीमै विश्वविद्यालय शिक्षा प्रारम्भ भइसकेको थियो। जब शिक्षित जनशक्ति कम हुन्छ, समाजमा चेतना, उत्तरदायित्व र सक्रिय सहभागिता पनि कम हुन जान्छ।

हामीले हाम्रो विगत निकै कठिन संघर्षमा बितायौँ। बाइसे, चौबिसे राज्यबाट नेपाल देश बन्न लागेको अवस्थादेखि नै युद्धमा होमियौँ। अंग्रेजसँगको युद्धले हामीलाई अरू कुरामा सोच्ने समय नै दिएन। राणाहरूको पालामा त झन् जनतालाई सुसूचित गर्नै हुन्न भन्ने नीतिका कारण अध्यारोमा राखियो। पछि पंचायत, जनयुद्ध, आन्दोलन आदिले विकासको गति अवरुद्ध बनायो। अहिले बल्ल हामी स्थायित्व प्राप्त गर्ने मार्गतर्फ अग्रसर हुँदैछौँ, जुन परिवर्तनको आधार बन्न सक्छ।

आज संविधान बनेको करिब १० वर्ष पुग्दैछ। संविधानसभाको पहिलो निर्वाचनबाट संविधान बनेको भए परिवर्तन छिटो देख्न सकिन्थ्यो कि भन्ने आशा गर्नु अनुचित होइन। संविधान किशोर अवस्थामा छ र अब त्यसलाई परिपक्व बनाउँदै लानुपर्छ। संविधानमा उल्लेख गरिएका हक र अधिकारहरूको पूर्ण कार्यान्वयनमार्फत मात्र सुदृढ लोकतन्त्र सम्भव छ।

आजको दिनमा स्वतन्त्र बोल्न पाउनु, आफ्नो मत राख्न पाउनु मात्र अधिकार होइन, त्यो नागरिक जिम्मेवारी पनि हो। जनता यहाँबाट अझ माथि उठ्न चाहन्छन्। विशेष गरी आर्थिक स्वतन्त्रता आजको प्रमुख बहसको विषय हो। २०८०/२०८१ मा मात्रै नेपालबाट वैदेशिक रोजगारीका लागि ७ लाख भन्दा बढी नेपाली युवा विदेशिएका छन्। देशमै रोजगार सिर्जना हुने, विशेष तह र उमेरलाई शिक्षा, स्वास्थ्य निःशुल्क हुने हो भने, जनता अझै पनि आशावादी हुन सक्छन्।

लोकतन्त्रका सबल पक्षहरूमध्ये समान पहुँच, आर्थिक पारदर्शिता, निर्वाचन र मताधिकार, समावेशिता आदि पर्दछन्। तर नेपालमा लोकतन्त्रका दुर्वल पक्षहरूले प्रश्रय पाएका छन्। भ्रष्टाचार कानुनी रूपमा रोकिए पनि नीतिगत भ्रष्टाचार मौलाएको छ। समावेशीताका नाममा सीमित नेताका आफ्ना मान्छेहरूलाई मात्र अवसर दिन थालिएको छ। यी कुराहरूले गर्दा आजको युवा झन् बढी आक्रोशित बनेको छ, र गालीको भाषा सामाजिक प्रतिक्रिया बन्न पुगेको छ।

तर अब जनताले पनि केही बुज्न जरुरी छ । गाली गरेर देश बन्दैन ।नेताहरुले एक अर्कालाई गाली गरेर समय बिताए जस्तो हामिले पनि त्यसरि नै उनिहरुतर्फ फर्किदै गाली गर्यौ भने न देश वृद्दी हुन्छ न हाम्रो चेतनाको स्तर । कुनै कुरा बजारमा आउने बित्तिकै सुरुमा ठिक छ या छैन ? साचो हो या होइन ? फ्याक्ट चेक गरौँ । त्यसको विरोध कसरी हुनसक्छ रचनात्मक बनौ । किन भड्किदै छ समाज बहस , अन्तरक्रिया गरौँ । कसैले सार्वजनिक रुपमा नै गाल्ति गरेको भए सामाजिक रुपमै बहिस्कार गरौ , नेता छ भने अर्को चुनावमा मत नै नहालौ तर सामाजिक संजालमा निम्नस्तरको गाली गरेर आफै पनि निम्नस्तरको नबनौ ।

युवापुस्ता परिवर्तनका वाहक हुन्। उनीहरूले नकारात्मक सोच छाडेर नवप्रवर्तन, उद्यमशीलता र सामाजिक अभियानमार्फत समाजमा उत्साह पैदा गर्नुपर्छ । आज पनि धेरै युवाहरूले साना साना उद्यमहरू र अन्य स्टार्टअपबाट देशमै अवसर सिर्जना गरिरहेका छन्। ती सकारात्मक उदाहरणहरूलाई फैलाउ र देश वन्दै बनेन , समाजमा कोहि ठिक नै छैन , केही ठिक नै छैन भन्ने भाष्यलाई निमिट्यान्न पार्न तर्फ लागौ।

अन्त्यमा, गाली गरेर होइन, सोचेर बोलौ । प्रश्न गरौ , गल्ती गर्नेहरुलाई आत्मआलोचना गर्न बाध्य पारौ र जोसुकै होस गलतको विरोध गरौं जुन लोकतन्त्रको आत्मा पनि हो । तर त्यसो गर्दा भाषा, तर्क र तथ्यको मर्यादा नछाडौं। देश बनाउने जिम्मा नेतासँग जत्तिकै हाम्रै काँधमा पनि छ। सकारात्मक सोच, साझा प्रयास र विवेकपूर्ण बहसबाट मात्र समृद्धि सम्भव छ।
“स्टन्ट गरेर देश नबने जस्तो, गाली गरेर पनि देश बन्दैन । “

प्रकाशित : २०८२ वैशाख १९ गते २१:३९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI