कावासोती । नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । नेपाल पन्छीविद् संघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।
चराविद् प्रताप गुरुङले गत मंसिर २३ गते भरतपुर महानगरपालिका-२६ दिव्यनगरको खेतमा उक्त चरा देखेका थिए । गुरुङले खिचेको उक्त चराको तस्बिर पुस ८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।
चराको तस्बिर र अन्य विवरणका आधारमा उक्त चरा खैरो झाडी फिस्टो भएको कमिटीले पनि पुष्टि गरेको नेपाल बर्ड रेकर्ड कमिटीका डा.तुलसी सुवेदीले जानकारी दिए ।
नेपालमा १९औं शताब्दीयता यस चराको कुनै अभिलेख नभएको हुँदा लोप भएको ठानिएको डा.सुवेदीले बताए । यसको अंग्रेजी नाम ‘ब्राउन बुस वार्ब्लर’ र वैज्ञानिक नाम Locustella luteoventris हो ।
यो चरा भुटान, भारत, चीन, म्यानमार र थाइल्यान्डमा पाइने नेपाल पन्छीविद् संघले जनाएको छ । यो अब नेपालमा पनि पाइने सूचीमा समावेश भएको छ ।
प्रकाशित : २०८१ फागुन २० गते ७:०१
Facebook Comment