राजतन्त्र फर्काउने कुरा कल्पनाभन्दा बाहिर – मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES

राजतन्त्र फर्काउने कुरा कल्पनाभन्दा बाहिर – मुख्यमन्त्री पाण्डे

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा पुनः राजतन्त्र फर्काउने कुरा कल्पनासम्म गर्न नसकिने बताएका छन्।

आज नेपाल पत्रकार महासंघ नवलपुर शाखाले कावासाेतीमा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा उनले जनताको बलिदानबाट प्राप्त गणतन्त्र कुनै हालतमा उल्टिन नसक्ने स्पष्ट पारे। मुख्यमन्त्री पाण्डेले नेपाल संघीय लोकतान्त्रिक प्रणालीमा अघि बढिसकेको उल्लेख गर्दै जनताको अभिमत विपरीत राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताए।

“गणतन्त्र देशको स्थायी व्यवस्था भइसकेको छ। यसलाई उल्ट्याउने कल्पना गर्नु पनि सम्भव छैन,” उनले भने। मुख्यमन्त्री पाण्डेले लोकतन्त्र नै नेपालका लागि एक मात्र मार्ग भएको भन्दै राजनीतिक स्थायित्वका लागि राजतन्त्र कुनै विकल्प हुन नसक्ने उल्लेख गरे। “राजतन्त्र अब नेपालका लागि उपयुक्त छैन। इतिहास भइसकेको व्यवस्था फर्काउने प्रयास निरर्थक छ,” उनले थपे।

राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि सबै दलहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले संघीयता र लोकतन्त्रको सुदृढीकरण नै राष्ट्रिय आवश्यकताको रूपमा अघि बढेको उल्लेख गरे। साथै, राजसंस्थाको पुनःस्थापनाको माग उठाउनेहरू अल्पसंख्यक रहेको दाबी गर्दै जनताको सहभागिताले मात्र देशलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले त्रिवेणी – दुम्कीबास सडकको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै छिट्टै समस्या समाधान हुने दाबी गरे। साथै, संविधानलाई अझ बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology