कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल ओभरलोडका कारण पुनः भत्किएको छ।
यसअघि २०७९ साल असार महिनामा पनि ओभरलोडकै कारण पुलको बीच भाग चर्किएको थियो। त्यसबेला तत्कालीन रूपमा मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उक्त पुल पुनः भारी सवारीसाधनको अत्यधिक भारका कारण भत्किएको हो।
सोमबार राति पुल भासिएपछि राति ९ बजेदेखि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने यात्रुहरू अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, ओभरलोडका कारण पुलको एक भागमा क्षति देखिएपछि यातायात रोक्नु परेको हो। उनका अनुसार सडक विभाग र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ। “निर्माणाधीन अर्को पुल पनि सञ्चालनयोग्य छैन र रातको समयमा डाइभर्सन निर्माण गर्नु सम्भव छैन,” ढकालले भने, “प्राविधिकहरू खटिइसकेका छन् तर तत्काल वैकल्पिक मार्ग निर्माण गर्ने वा यातायात पुनः सञ्चालन गर्ने अवस्था छैन।” उनले डाइभर्सन गरेर राजमार्ग सुचारु गराउने विषयमा छलफल भइरहेको जानकारी पनि दिए।
केही महिना अघि बिनयी त्रिवेणीस्थित बिनयी खोलाको फलामे पुल भत्किँदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो। हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधि, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भएको थियो। हाल सो पुल डाइभर्सनमार्फत सञ्चालनमा आए पनि स्थायी मर्मत गरिएको छैन।
यसरी पटक–पटक फलामे पुलहरू भत्किँदा मुख्य राजमार्ग बारम्बार बन्द हुन थालेको छ। देवचुली क्षेत्रका लोकाहा र बौलाहा खोलाका पुलहरू पनि अघिल्लो वर्षहरूमा दुईपटकसम्म भत्किएर मर्मतपछि सञ्चालनमा ल्याइएको थियो। गिरूबारी खोलाको पुल पनि अघिल्ला वर्षहरूमा झन्डै आधा दर्जनपटक मर्मत गरिएको थियो।
नवलपुर जिल्लाभित्र रहेका अधिकांश फलामे पुलहरू करिब ५० वर्ष पुराना भइसकेका छन्। भौतिक संरचना निकै कमजोर भएका यस्ता पुलहरूलाई केवल आंशिक मर्मत गरेर अस्थायी रूपमा सञ्चालन गरिएको छ। नयाँ पुल निर्माण नहुँदासम्म जोखिम मोलेर सवारीसाधन चलाइँदै आएको छ।
स्थानीय सिमेन्ट उद्योग र ढुवानी कम्पनीहरूले भारी तौलका मालबाहक सवारी प्रयोग गर्दा पुलहरूमा थप दबाब पर्न थालेको प्रहरीको भनाइ छ।
सडक विभागका इञ्जिनियरहरूका अनुसार, गएराति भत्किएको गिरूबारी पुल पनि अत्यधिक ओभरलोडकै कारण चर्किएको हो।
विशेष गरी दाउन्ने खण्ड हुँदै दैनिक हजारौँ सवारीसाधन गुड्ने भएकाले पुलहरूमा अत्यधिक लोड पर्न थालेको छ। जामका कारण गाडीहरू लामो समय एउटै स्थानमा रोकिँदा संरचनामा स्थायी भार पर्न जान्छ र पुल कमजोर बन्ने खतरा थपिन्छ।
राजमार्ग विस्तार र सुधारको जिम्मा लिएको चिनियाँ ठेकदार कम्पनीले तोकिएको समयमा काम नसक्दा हाल पनि अधिकांश स्थानमा पुराना पुलकै भरमा सवारी सञ्चालन भइरहेको छ। यस्तो अवस्थामा यात्रुहरू दिनहुँ ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्।
प्रकाशित : २०८२ वैशाख ३० गते ५:१७
Facebook Comment