नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव

NAWALPUR TIMES

नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव

कावासोती ।एक जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभरि तनावग्रस्त बनेको नवलपरासी पश्चिमको घटनाका सम्बन्धका दुई पक्षबीच सहमती भएको छ ।

झडपमा उत्रिएका दुवै पक्ष (केटा पक्ष र केटी पक्ष) र प्रशासनका बीच बिहीबार सहमति भएको हो ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रशासन र झडप गर्ने पक्षबीच सहमति टुंगिएर शव समेत परिवारले बुझिसकेको बताए ।

अहिले नवलपरासी प्रहरीको हिरासतमा ६ जना छन् । घटनाको विषयमा सत्य तथ्य छानबिन गरेर निर्दोष देखिएमा उनीहरूलाई छाड्नेबारे सहमतिपत्रमा उल्लेख गरिएको छ । घटनाको अनुसन्धान गरेर दोषीमाथि कडा कारबाही गरिनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनेबारे सहमति पत्रमा उल्लेख गरिएको रेग्मीले बताए ।

सामाजिक सद्भाव बिग्रन नदिने सबै पक्ष एकजुट भएर काम गर्ने र शान्ति सुरक्षा मजबुत पार्ने लगायतका विषयहरू सहमतिपत्रमा उल्लेख गरिएको छ । सहमति भइसकेपछि केटीका दाजुले चलाएको भ्यानको ठक्करबाट मृत्यु भएका विजय धवलको शव परिवारले बुझेर दाहसंस्कारका लागि लगिसकेका छन् ।

नवलपरासी पश्चिमको पालिनन्दन गाउँपालिका–३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले निम्त्याएको आक्रोशका कारण मंगलबार ज्यान जानेसम्मको घटना भएको थियो । धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology