कावासोती । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नवलपुरका नेपाल–भारत सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको सूचनाअनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाकाबाट सवारीसाधन तथा व्यक्तिको आवागमन रोक लगाइनेछ।
निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउन यो निर्णय लिइएको प्रशासनले जनाएको छ। बन्दको अवधिमा नेपाल–भारत सीमा अन्तर्गत पर्ने त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक ब्यारेज पुल नाकाबाट आकस्मिक सेवा बाहेक अन्य सबै आवागमन बन्द रहनेछ।
प्रशासनका अनुसार पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन तथा भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटक बाहेकका सवारी तथा व्यक्तिहरूको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गरेको सूचनामा सम्बन्धित सबै पक्षलाई आवश्यक जानकारी लिन र सहकार्य गर्न अनुरोध गरिएको छ।
Facebook Comment