रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न

NAWALPUR TIMES

रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न

भरतपुर : भरतपुरमा रक्तदान उत्प्रेरणा तथा प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न भएको छ । महाकालेश्वर आमा समूह भरतपुर, चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको प्राविधिक सहयोगमा तीन दिने तालिम सम्पन्न भएको हो।
यहि पौष १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा २० जना सहभागी रहेका थिए। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीलाई नेपाल रेडक्रस सोसाइटीद्वारा प्राथमिक उपचारक को प्रमाणित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता महाकालेश्वर आमा समूह भरतपुर, चितवनकी अध्यक्ष उर्मिला रेग्मीले गर्नुभएको थियो। उहाँले समुदायमा आपतकालीन अवस्थाको सामना गर्न सक्ने दक्ष जनशक्ति तयार गर्नु आजको आवश्यकता भएको बताउनुभयो। “रक्तदान र प्राथमिक उपचारबारे सचेतना बढेमा धेरै अमूल्य ज्यान बचाउन सकिन्छ,” अध्यक्ष रेग्मीको भनाइ थियो। यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले स्वास्थ्य स्वयंसेवा र सामाजिक उत्तरदायित्वमा आमा समूहको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले स्थानीय तहले समुदायस्तरका स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो। “प्राथमिक उपचारको ज्ञान हरेक नागरिकमा हुनु आवश्यक छ, यसले दुर्घटना र आपतकालीन अवस्थामा ठूलो राहत दिन्छ,” उहाँको भनाइ थियो।

तालिममा शारदा शर्मा पौडेल, रुद्र अधिकारी, नरबहादुर केसी र देवेन्द्र पौडेलले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य समूहकी उपाध्यक्ष लक्ष्मी लामिछानेले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिन्दु खनालले गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नेत्रकुमारी पौडेल, पूर्व अध्यक्ष उर्मिला रेग्मी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष रेग्मीले तालिम सफल बनाउन सहयोग पुर्‍याउने नेपाल रेडक्रस सोसाइटी चितवनका सभापती हरिप्रसाद पौडेल, प्रशिक्षक संयोजक चिजकुमार आले तथा भरतपुर महानगरपालिका वडा नम्बर १० परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology