नवलपुरमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाईते

NAWALPUR TIMES

नवलपुरमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाईते

कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिका–८, फुलबारी उकालोस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार साँझ मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहिबार साँझ कावासोतीबाट दुम्किबासतर्फ जाँदै गरेको बा.प्र.०६-००१ क ०४४४ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१ निवासी ३०–३५ वर्षका राजकुमार बोहरा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बोहरा नं.३३ गुल्म मुस्ताङमा दरबन्दी भई हाल सशस्त्र प्रहरीको सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट (पश्चिम) मा तालिमरत थिए। उनीलाई तत्कालै मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१४, सुन्दरबस्ती निवासी ३०–३२ वर्षका जितबहादुर महतो पनि गम्भीर घाइते भएका छन्। टाउको र दाहिने खुट्टामा चोट लागेका महतो बोल्न नसक्ने अवस्थामा थिए। उनी नं.२६ गण बेलासपुर (पश्चिम) मा दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय, बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान हुन्। प्रारम्भिक उपचारपछि उनलाई साँझ ८ बजे चितवन मेडिकल कलेज, भरतपुरमा थप उपचारका लागि रिफर गरिएको हो।

दुर्घटना लगत्तै प्रहरी चौकी तम्सरियाबाट रामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित चार जनाको टोली घटनास्थल पुगेर आवश्यक कारबाही थालेको थियो। ट्रक चालक नुवाकोट, बेलकोटगढी नगरपालिका–१० का ३३ वर्षीय राजन कुमार नेपालीलाई नियन्त्रणमा लिएर मिनी ट्रक र मोटरसाइकल दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थल प्रहरी चौकी तम्सरियाबाट करिब २ किलोमिटर पश्चिमतर्फ पर्छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology