अनत व्रत बसेर अनन्त चतुर्दशी पर्व मनाउदै थारु समुदाय

NAWALPUR TIMES

अनत व्रत बसेर अनन्त चतुर्दशी पर्व मनाउदै थारु समुदाय

कावासोती । अनत व्रत बसेर नवलपुर लगाएतका देशका विभिन्न ठाउँमा थारु समुदायले आज अनन्त चतुर्दशी पर्व मनाउदै छ्न ।

भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने यो पर्वमा थारु समुदायले व्रत बसेर पिङ(हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर वर्त बस्ने गर्दछ्न ।

अनन्त चतुर्दशीका दिन व्रत बस्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाध्ने र व्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन रहेको छ। यसरी बाँधेको अनतको डोरो अमोसा(पितृऔंसी) मा बिसर्जन गर्ने चलन रहेको छ। अनतको डोरो बाँधेको ब्यक्ती ले डोरो बाँधेपछि अमोसा(पितृ औंसी) सम्म शाकाहारी बस्ने गर्दछ्न ।

द्वापर युगमा वनबासको समयमा भगवान श्रीकृष्णको आग्रह अनुसार पाण्डवहरुले अनन्त चतुर्द्शीका दिन अनतको व्रत बस्न सुरु गरेका थिए ।

पाण्डवहरु आफ्नो वनवासको समयमा १४ बर्ष सम्म हरेक वर्ष अनन्त चतुर्द्शीका दिन अनतको व्रत बसेर भगवान अनन्तको डोरो बाँधेने गरेका थिए । यहि व्रतको प्रभावले गर्दा पाण्डवहरुले महाभारत को युद्ध मा विजयी भएका थिए र आफ्नो गुमेको राजकाज फिर्ता पाउन सफल भएका पौराणिक किम्बदन्ती रहेको छ । तत्पश्चात सबैले अनत व्रत लिन थालिएको थारु अगुवाहरु बताउछ्न ।

अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ जसलाई लहा खाने भनिन्छ र त्यही राती पिङ बाटेर अनतको दिनको तयारी गरी राती नै भाले बास्नु अगाडी मिठो मिठो परिकारहरुको डटकट खाएर शुरु गरिन्छ। अनतको दिन सफा वस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन रहेको छ।

बेलुकीपख व्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्का मा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल हरु भगवान अनन्तको पूजापाठ गरेर फरहर गर्ने गर्दछन।

यस दिन व्रत बस्नाले गुमेका धन सम्पत्ति, राजपाठ ऐसआराम प्राप्त हुने, तथा मृत्यु पश्चात विष्णुलोक प्राप्त हुने र सधै सत्यको जित हुने  जनविश्वास रहदै आएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology