नवलपुरमा वसन्त(चैते) धान उत्पादन बढाउनको लागि NPK मलको उपयुक्त मात्रा निर्धारण

धिरज दत्त दाहाल
प्रकाशित : २०८२ असार १७ गते १२:२३
नवलपुरमा वसन्त(चैते) धान उत्पादन बढाउनको लागि NPK मलको उपयुक्त मात्रा निर्धारण

परिचय

धान विश्वका लागि मात्र होइन, नेपालको सन्दर्भमा पनि अत्यन्तै महत्वपूर्ण अन्न बाली हो। यो झण्डै ३.५ अर्ब जनसंख्याको मुख्य खाद्य स्रोत हो र मानव जीवनका लागि आवश्यक क्यालोरीको प्रमुख आपूर्तिकर्ता बालीका रूपमा चिनिन्छ। विश्वमा कुल धान उत्पादनको करिब ९० प्रतिशत हिस्सा एशियाली मुलुकहरूमा केन्द्रित छ। चीन, भारत, बंगलादेश, भियतनामजस्ता मुलुकहरू प्रमुख उत्पादक हुन् भने नेपाल धान उत्पादनमा १७औं स्थानमा पर्दछ।

नेपालमा धान खेती केवल कृषि पेसासँग सम्बन्धित छैन, यो हाम्रो संस्कार, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको छ। जन्मदेखि मृत्युसम्म, र चाडपर्वदेखि दैनिक जीवनसम्म, धान नेपाली समाजको अभिन्न हिस्सा बनेको छ। हिमाल, पहाड र तराई तीनै भूभागमा विभिन्न प्रकारका धानखेती हुने गरेका छन्। धान नेपालको खाद्य तथा पोषण सुरक्षाको मेरुदण्ड हो, जसले कृषकको आय वृद्धि मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्‍याउँछ।

देशको करिब ४७% खेतीयोग्य जमिनमा धान खेती गरिन्छ जसमा ७०% हिस्सा तराईको छ। कुल अन्न उत्पादनमा धानको योगदान ५३% रहेको छ। वार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा उप-उत्पादनहरूबाट आय हुने गर्दछ। कृषिमा धानले १५.३५% योगदान दिँदै मुलुकको खाद्य सुरक्षा र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। आ.व. २०७९ /०८०  नेपालमा १४.५७  लाख हेक्टर क्षेत्रफलबाट ५४ .८६  लाख मेट्रिक टन धान उत्पादन भएको छ भने नवलपरासी पूर्वमा १९,२९६ हेक्टर क्षेत्रफलबाट ८१,९५० मेट्रिक टन धान उत्पादन भएको छ।

नेपालको तराई क्षेत्रमा वसन्त (चैते) धान खेती एक महत्त्वपूर्ण कृषिक क्रियाकलाप हो, जसले खाद्य सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याउँछ। यस्ता धान बालीको उत्पादनमा सुधार ल्याउनका लागि उचित मल व्यवस्थापन अत्यावश्यक हुन्छ। विशेषतः नाइट्रोजन (N), फस्फोरस (P), र पोटासियम (K) (जसलाई सामूहिक रूपमा NPK मल भनिन्छ) को सन्तुलित प्रयोगले उत्पादनमा प्रत्यक्ष असर पार्दछ। यस लेखमा, मैले विशेष रूपमा नवलपरासी पूर्वको सन्दर्भमा वसन्त (चैते) धान उत्पादन वृद्धि गर्नका लागि आवश्यक NPK मलको उपयुक्त मात्रा निर्धारणका बारेमा चर्चा गरेको पाइन्छ । सन्तुलित मल व्यवस्थापनमार्फत उत्पादन वृद्धि कसरी सम्भव हुन्छ भन्ने विषयमा वैज्ञानिक दृष्टिकोण र क्षेत्रीय यथार्थलाई समेट्ने प्रयास गरेको पाइन्छ।

गर्नुपर्ने अनुसन्धान किन आवश्यक ?

नवलपरासी पूर्वजस्ता क्षेत्रमा अधिकांश किसान परम्परागत तरिकाले मल प्रयोग गर्छन्, जसले गर्दा या त मलको अत्यधिक प्रयोग हुन्छ वा आवश्यकता अनुसार पुग्दैन। यसले बालीको उत्पादन क्षमतामा नकारात्मक असर पार्दछ र माटोको उपजाऊपन समेत कम गर्न सक्छ। त्यसैले यस्ता क्षेत्रमा स्थानीय सन्दर्भअनुसार NPK मलको उपयुक्त मात्रा निर्धारण गर्नु आवश्यक छ।

अनुसन्धानको उद्देश्य : यो अध्ययनको मुख्य उद्देश्य भनेको वसन्त धानको उत्पादन बढाउनका लागि नवलपरासी पूर्वको माटोको प्रकृति र जलवायु सन्दर्भमा NPK मलको उत्तम मात्रा निर्धारण गर्नु हो।

प्रयोगशाला तथा क्षेत्र परीक्षणहरू : अनुसन्धान अन्तर्गत विभिन्न दरका NPK मलहरू (जस्तै १२०:४०:४०, १८०:४०:४०, ६०:४०:४० , १२०:६०:४०, १२०:२०:४०, १२०:४०:६०, १२०:४०:२० NPK किलोग्राम प्रति हेक्टर आदिको अनुपात) प्रयोग गरेर क्षेत्रीय परीक्षणहरू गरिन्छ। प्रत्येक प्लटमा उही जातको धान Hardinath-1 Hybrid जात प्रयोग गरिन्छ, र उत्पादनको तुलनात्मक विश्लेषण गरिन्छ।

मुख्य सम्पन्न गरिएका कार्यहरू

  • माटो नमुना संकलन तथा माटो परीक्षण
  • हिले बेडमा बीउ छर्ने कार्य
  • बिरुवा सार्ने र आधार मल(बेसल डोज) प्रयोग गर्ने कार्य
  • ३०, ४५, ६० र ७५ दिनपछि (रोपाइँपछिको दिन – DAT) बोटको उचाइ र टिलर सङ्ख्याको तथ्यांक संकलन
  • मलको विभाजित मात्रामा प्रयोग (स्प्लिट डोज)
  • धान काट्ने (बाली संकलन) कार्य
  • संकलित तथ्यांकको विश्लेषण

माटो नमुना संकलन                                                         

dhan 1

 आधार मलको(बेसल डोजको) प्रयोग  

dhan2

     

    बोटको उचाइ तथ्यांक संकलन

dhan3

                                                          धान काट्ने (बाली संकलन) कार्य

dhan4

 

प्रमुख निष्कर्षहरू

– NPK मलको सन्तुलित प्रयोगले धानको संख्या, बालीनालीको स्वास्थ्य, र कुल उत्पादनमा उल्लेखनीय वृद्धि देखिन्छ।

– 120:40:40 को मात्रा धेरैजसो अवस्थामा उत्पादनको लागि उपयुक्त देखिएको छ, तर माटो परीक्षणबिना सिफारिस गर्नु अनुचित हुन सक्छ।

– अत्यधिक नाइट्रोजन प्रयोगले बोट त अग्लो बनाउँछ तर दाना भरिने सम्भावना कम हुन्छ।

 

कृषकहरूका लागि सिफारिसहरू

  1. माटो परीक्षण अनिवार्य: मल प्रयोग गर्नु अगाडि माटो परीक्षण गरि आवश्यक मात्रा निर्धारण गर्नुहोस्।
    2. सन्तुलित मल प्रयोग: केवल नाइट्रोजन होइन, फस्फोरस र पोटासियमको पनि ध्यान दिनुपर्छ।
    3. सजग ढंगले मल छर्नुहोस्: मललाई 2–3 किस्तामा छर्नु उपयुक्त हुन्छ—जमिन तयारी, रोपाइँ पछि (३०-३५ दिनमा) , र टुसाउने चरणमा(४५-५० दिनमा)।

 

निष्कर्ष
नवलपरासी पूर्वमा वसन्त धानको उत्पादन बढाउनको लागि वैज्ञानिक ढंगले NPK मलको उपयुक्त मात्रा निर्धारण गर्नु अत्यावश्यक छ। यसले न केवल उत्पादन वृद्धि गर्छ, तर दीर्घकालीन माटो स्वास्थ्य पनि जोगाउँछ। कृषि अनुसन्धान केन्द्रहरू, कृषि प्राविधिकहरू, र किसानबीचको सहकार्यमार्फत यस्ता अभ्यासहरूलाई व्यवहारमा ल्याउनु अबको प्रमुख आवश्यकता हो।

किसानहरूलाई मुख्य सन्देश : यदि तपाईं किसान हुनुहुन्छ भने, आफ्नो खेतको माटो परीक्षण गराई उपयुक्त मल प्रयोग गरौं र उत्पादन वृद्धि गरौं।

लेखक कृषि इन्टर्न विद्यार्थी हुन ।

प्रकाशित : २०८२ असार १७ गते १२:२३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI