७ महिना पछि एकदिवसीय क्रिकेट खेल्दै नेपाली टोलि: लिग-२ मा स्कटल्याण्ड सँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २० गते ८:५५
७ महिना पछि एकदिवसीय क्रिकेट खेल्दै नेपाली टोलि: लिग-२ मा स्कटल्याण्ड सँग खेल्दै
NepalCricket UgkxhB2nIx 1

कावासोती । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्याण्डसँग खेल्दैछ । लिग–२ को नेदरल्याण्ड्स र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसँग पहिलो खेल खेल्न लागेको हो । उक्त खेल सोमबार(आज) दिउँसो पौनै ४ बजेबाट सुरु हुनेछ ।

नेपालले ७ महिनापछि आडिआई खेल खेल्न लागेका हो । यसअघि पछिल्लो पटक स्कटल्याण्डसँग नै ओडिआई खेल खेलेको थियो । उक्त खेल नतिजाविहीन बनेको थियो । सन् २०२४ को नोभेम्बरमा भएको नेपाल, अमेरिका र स्कटल्याण्डबिचको त्रिकोणात्मक सिरिजअन्तर्गतको उक्त खेलमा दुवै टोलीले एकएक अंक बाँडेका थिए । त्यसयता नेपालले कुनै पनि ओडिआई खेल खेलेको छैन ।

यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ । दुवै टोली आईसीसीको ओडिआई वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।

विश्व वरियतामा नेपाल १७औं स्थानमा रहँदा स्कटल्याण्ड १३औं र नेदरल्याण्ड्स १४औं स्थानमा छन् । लिग–२ मा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् यी दुई टोलीले । २० खेल खेलेको नेदरल्याण्ड्स १२ जितसहित दोस्रो स्थानमा छ । १६ खेलबाट ९ जित निकालेको स्कटल्याण्ड २० अंकसहित चौथो स्थानमा छ ।

१२ खेलमा मात्र २ खेलमा जित निकालेको नेपाल ६ अंकसहित अंकतालिकाको पुछारमा छ । स्कटल्याण्डसँगको पछिल्लो ५ खेलमा नेपालले ३ मा जित निकाल्दा एक खेलमा हार बेहोरेको छ । एक खेल नतिजाविहीन भएको छ । नेदरल्याण्ड्ससँग नेपालले पहिल्ला २ जित निकाल्दा ३ खेल गुमाएको छ ।

बेलायतका क्लबबिरुद्ध अभ्यास खेलमा अपराजित रहेको नेपालले स्कटल्याण्डमा भने त्यो यात्रा कायम राख्न सकेन । स्कटल्याण्ड ‘ए’ टोलीसँगको दुई अभ्यास खेलमा नेपाल एक खेलमा पराजित हुँदा एक खेल नजिताविहिन हुन पुग्यो ।

पहिलो अभ्यास खेलमा २२१ रनको लक्ष्य पछ्याएको नेपाल मात्र ११८ रनमा अलआउट हुन पुग्यो । दोस्रो खेलमा नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो । तर, स्कटल्याण्ड ‘ए’ ले १३ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाउँदा वर्षा भएपछि खेल नतिजाविहीन हुन पुग्यो ।

दुवै खेलको ब्याटिङ कार्ड हेर्दा अहिले नै सन्तुष्ट हुने ठाउँ देखिँदैन । दुवै खेलमा नेपालको ओपनिङ जोडी टिक्न सकेको छैन । पहिलो खेलमा ४ र दोस्रो खेलमा ५ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।

नेपालको टाउको दुखाई बनिरहने ओपनिङ ब्याटिङ अहिले पनि चल्ने हो कि होइन भन्नेमा धेरैको आशंका छ । अभ्यास खेलमा टपअर्डर, मिडलअर्डर र लोअर्डरमा पनि नेपालका ब्याटर खासै जम्न सकेका छैनन् ।

७ महिनापछि खेल्न लागेको ओडिआईमा भने कस्तो प्रदर्शन गर्नेछन् ? त्यो भने हेर्न बाँकी छ । नयाँ प्रशिक्षकले नेपाली खेलाडीलाई कस्तो रणनीतिमा मैदानमा उतार्छन् त्यो पनि हेर्न बाँकी छ ।

स्टुआर्ट ल टोलीको मुख्य प्रशिक्षक बनेपछि उनको नेतृत्वमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनी नियुक्त भएपछि नेपालले हङकङमा टी–२०आई सिरिज खेलेपनि प्रशिक्षक ल सहभागी भएका थिएनन् ।

उक्त समयमा ज्ञानेन्द्र मल्लले नेपाली टोली सम्हालेका थिए । २ वर्षका लागि नेपाली टोली सम्हालेको अष्ट्रेलियन प्रशिक्षक ललाई पुछारमा रहेको नेपाललाई शीर्ष चारमा पुर्याउँदै ओडिआई स्टाटस जोगाउने र ग्लोबल छनोटमा प्रवेश गराउने चुनौती छ ।

प्रकाशित : २०८२ जेठ २० गते ८:५५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI