जेन-जी आन्दोलनमा घुसपैठ गरेर ध्वंस मच्चाउनेलाई कारबाही हुन्छ : प्रहरी महानिरीक्षक खापुङ्ग

नारायण शर्मा
प्रकाशित : २०८२ कार्तिक २ गते १९:३५
जेन-जी आन्दोलनमा घुसपैठ गरेर ध्वंस मच्चाउनेलाई कारबाही हुन्छ : प्रहरी महानिरीक्षक खापुङ्ग

कावासोती । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेन-जी आन्दोलनका समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने सबैलाई कारबाही हुने बताएका छन् ।

आन्दोलनको समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने कार्यमा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो र अन्य फुटेजसहितका प्रमाणका आधारमा कारबाही हुने उनले बताए। त्यस्ता फोटो वा भिडियो पठाएर प्रहरीलाई सहयोग गर्न पनि उनले अपिल गरे ।

कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनपछि बोल्दै महानिरीक्षक खापुङले यस्तो बताएका हुन्। ‘जेन-जी आन्दोलनको एउटै स्पष्ट सन्देश भनेको भ्रष्टाचारमुक्त नेपाल हो,’ उनले भने, ‘यसलाई सबैले आत्मसात् गरेर अघि बढ्नुपर्छ ।’

जेन-जी आन्दोलनमा सरकारी कार्यालय र नेताहरूका घरमा आगजनी गर्नेहरूलाई प्रमाणसहित उजुरी दिँदा पनि प्रहरीले कारबाही नगरेको र मुद्दा दर्ता भइसकेका अभियुक्तहरूलाई सरकारले धमाधम छोडेको भन्ने व्यापक आलोचना भइरहेका बेला प्रहरी महानिरीक्षक खापुङले घुसपैठ गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने बताउँदै सरकारको बचाउ गरेका हुन् ।

जेन-जी आन्दोलनका क्रममा अग्रभागमा रहेका सुरक्षाकर्मीले अत्यधिक क्षति व्यहोरेको स्मरण गराउँदै उनले त्यसको समीक्षा हुनुपर्ने बताएका छन् । जेन-जी आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कारबाही गर्न प्रहरी निरन्तर लागेको र त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाल प्रहरी कल्याण कोषले करिब ११ करोड लागतमा निर्माण गरेको पेट्रोल पम्पबाट सबैले गुणस्तरीय र भरपर्दो सेवा पाउने जानकारी उनले दिए ।

प्रकाशित : २०८२ कार्तिक २ गते १९:३५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI