बद्लिएको कांग्रेस र बदलिँदो मतदाता: नवलपुर–१ को चुनावी चित्र

NAWALPUR TIMES

बद्लिएको कांग्रेस र बदलिँदो मतदाता: नवलपुर–१ को चुनावी चित्र

कावासोती । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा पछिल्लो समय देखिएको बद्लिएको कांग्रेस को छविले पार्टी संगठनलाई मात्र होइन, उम्मेदवार बालकृष्ण घिमिरे लाई पनि थप मजबुत बनाएको देखिन्छ।

नेतृत्व, कार्यशैली र राजनीतिक एजेन्डामा आएको परिवर्तनसँगै नेपाली कांग्रेस पुनः जनमुखी, उत्तरदायी र भरोसायोग्य शक्तिका रूपमा प्रस्तुत हुन थालेको स्थानीय नेताहरूको भनाइ छ।

बद्लिएको कांग्रेसले आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै अघि बढेको दाबी गरिएको छ। विगतमा पार्टीभित्र देखिँदै आएका गुटगत विवादलाई पन्छाउँदै साझा उद्देश्य, संगठन सुदृढीकरण र विकासका एजेन्डामा केन्द्रित हुनुले कांग्रेस नवलपुर–१ मा एकताबद्ध देखिएको छ। यही परिवर्तनको धारसँगै बौद्धिक पृष्ठभूमि र व्यवहारिक अनुभव बोकेका घिमिरेलाई कांग्रेसको नयाँ अनुहारका रूपमा प्रस्तुत गरिएको छ।

राजनीतिक इतिहास हेर्दा नवलपुर–१ कांग्रेसको बलियो आधार क्षेत्र रहँदै आएको छ। २०४८ सालदेखि निरन्तर जित निकाल्दै आएको कांग्रेसले यस क्षेत्रमा सात पटक प्रतिनिधिसभा निर्वाचन जितिसकेको छ। विशेषगरी पछिल्ला १८ वर्षसम्म कांग्रेसले केन्द्रीय नेता शशांक कोइराला लाई निरन्तर उम्मेदवार बनाउँदै आएको थियो। उनका लगातार विजयले क्षेत्रलाई सुरक्षित मानिए पनि लामो समय एउटै केन्द्रीय अनुहार दोहोरिँदा स्थानीय तहमा ‘टुरिष्ट उम्मेदवार’ को आरोप लाग्दै आएको कांग्रेसभित्रै स्वीकारोक्ति छ। यसपटक भने स्थानीय पृष्ठभूमिका उम्मेदवार बालकृष्ण घिमिरे मैदानमा आउँदा त्यो मनोवैज्ञानिक दूरी हटेको देखिन्छ। बुलिङटारमा जन्मिएर कावासोतीलाई कर्मथलो बनाएका घिमिरेले दुई दशकभन्दा बढी समय प्राध्यापन पेशामा बिताएका छन् भने कानुन व्यवसायीका रूपमा पनि सक्रिय छन्। स्थानीय समाज, शिक्षा, कानुन र जनजीवनसँग प्रत्यक्ष जोडिएका कारण कार्यकर्ता र मतदाताले उनलाई “आफ्नै मान्छे” का रूपमा लिएको बताइन्छ, जसले चुनावी अभियानमा नयाँ ऊर्जा थपेको छ।

प्राध्यापन र अधिवक्ता पृष्ठभूमिका कारण घिमिरेलाई संसदमा बहस, कानुन निर्माण र नीतिगत छलफलमा प्रभावकारी भूमिका खेल्न सक्ने उम्मेदवारका रूपमा हेरिएको छ। शिक्षण पेशाले दिएको विश्लेषणात्मक क्षमता र कानुनी अभ्यासले दिएको विधि–प्रक्रियागत ज्ञानका कारण उनी तथ्य, तर्क र नीतिका आधारमा हस्तक्षेप गर्न सक्ने सांसद हुने विश्वास व्यक्त गरिएको छ।

बद्लिएको कांग्रेसको सन्देशले युवा, शिक्षित र मध्यम वर्गीय मतदातामाझ पनि आकर्षण बढाएको छ। विगतमा अन्य दलतर्फ गएका केही नेता–कार्यकर्ता पुनः कांग्रेसमा फर्किने क्रमलाई पार्टीभित्र आएको परिवर्तनको संकेतका रूपमा लिइएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी मा गएका केही स्थानीय कार्यकर्ता कांग्रेसको दीर्घकालीन राजनीतिक आधारप्रति पुनः आकर्षित हुँदै फर्किएको दाबी गरिएको छ।

कांग्रेसले नवलपुर–१ लाई रणनीतिक निर्वाचन क्षेत्रका रूपमा लिँदै घरदैलो, प्रत्यक्ष संवाद र जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ। शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी र दिगो पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै स्पष्ट नीतिगत एजेन्डासहित मतदातामाझ जाने रणनीति पार्टीले बनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर–१ को राजनीतिक सरगर्मी तीव्र बनेको छ। प्रमुख दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, राप्रपा तथा स्वतन्त्र उम्मेदवारसहित १६ जना प्रतिस्पर्धामा उत्रिएसँगै प्रचारप्रसार अभियान उत्कर्षमा पुगेको छ। कांग्रेस भने आफ्नो पुरानो विरासत कायम राख्दै आठौँ जित निकाल्ने रणनीतिमा केन्द्रित देखिन्छ।

यस अघिका निर्वाचनमा शशांक कोइरालाको निरन्तर उम्मेदवारी रहदा विगतमा “टुरिष्ट उम्मेदवार” को आरोप खेपेको कांग्रेसले यसपटक स्थानीय पहिचान र क्षेत्रसँग गहिरो सम्बन्ध भएका उम्मेदवारलाई मैदानमा उतारेर मतदातामाझ सकारात्मक सन्देश दिन खोजेको देखिन्छ। पार्टीभित्र घिमिरेलाई पहाड र तराई जोड्ने सेतुका रूपमा पनि प्रस्तुत गरिएको छ।

करिब १२ हजार मतदाता रहेको र कांग्रेसको बलियो आधार मानिने बुलिङटारमा उनको उम्मेदवारीसँगै यसपटक विगतभन्दा बढी चुनावी माहोल देखिएको छ। कावासोती नगरपालिकामा पनि उनको पक्षमा रुझान बढ्दो रहेको स्थानीयहरूको भनाइ छ, विशेषगरी जेन–जी र युवा मतदातामा “बालकृष्ण सर” लाई जिताएर संसद पठाउने चाहना बलियो देखिन्छ।

स्पष्ट वक्ता र बौद्धिक नेताको छवि बनाएका घिमिरेले मध्यविन्दु प्रादेशिक अस्पतालको विकासमा देखाएको अग्रसरताले मतदातामा थप भरोसा जगाएको चर्चा छ। १५ शैय्याको अस्पताललाई १०० शैय्यामा विस्तार, अत्याधुनिक भवन निर्माण र निःशुल्क डायलासिस सेवाको विस्तारजस्ता पहलले जिम्मेवारी पाए काम गर्न सक्ने नेतृत्वका रूपमा उनलाई हेरिएको छ।

निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा घिमिरे मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन्। भेटघाटका क्रममा उनी मतदाताबाट नवलपुरको समृद्धि र विकाससम्बन्धी सुझाव लिँदै आफ्ना योजना पनि प्रस्तुत गरिरहेका छन्। यता एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचार अभियानलाई तीव्र बनाउँदै प्रतिस्पर्धा कडा पारिरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसको निरन्तर विजयको इतिहास, हाल देखिएको संगठनात्मक एकता, स्थानीय उम्मेदवारको स्वीकार्यता र बद्लिएको कांग्रेसको नयाँ अभ्यासले नवलपुर–१ मा बालकृष्ण घिमिरेलाई निर्णायक रूपमा बलियो बनाएको छ। पुरानो विश्वास र नयाँ अभ्यासको संयोजन बनेको बद्लिएको कांग्रेस नै यसपटक नवलपुर–१ मा कांग्रेसको मुख्य चुनावी आधारका रूपमा उभिएको देखिन्छ।

यो क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका शशांक कोइरालाले २७,०६७ मत ल्याएर पुन चाैथाे पटक बिजय भएका थिए भने एमालेका कृष्ण पौडेलले २५,०४७ र रास्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४,३०५ मत प्राप्त गरेका थिए ।

यसपटक मुख्यदलहरु कांग्रेसले बालकृष्ण घिमिरे, एमालेले भागिरथ सापकोटा, रास्वपाले राजन गौतम, नेपाली कम्युनिस्ट पार्टीले लोकप्रसाद भुर्तेल, राप्रपालाई दिपकचन्द्र बस्ताकोटीलाई उम्मेदवार बनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology