जीर्ण पुल जोगाउने जुक्ति : ४० टनभन्दा बढी सामान ट्रकबाट अनलोड गराउँदै प्रहरी

नारायण शर्मा
प्रकाशित : २०८२ जेठ २९ गते १४:५८
जीर्ण पुल जोगाउने जुक्ति : ४० टनभन्दा बढी सामान ट्रकबाट अनलोड गराउँदै प्रहरी

कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा रहेका ५ वटा जीर्ण अवस्थाका फलामे पुल जोगाउन भन्दै प्रहरीले ४० टनभन्दा धेरै मालसामान बोकेका ट्रकबाट सामान अनलोड गराएको छ ।

जिल्ला ट्राफिक प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार पूर्व-पश्चिम राजमार्गमा रहेका जीर्ण अवस्थाका ५ वटा फलामे पुलले ४० टनभन्दा धेरै लोड नधान्ने भएकाले त्योभन्दा बढी लोड भएका मालवाहक ट्रकबाट सामान अनलोड गराइएको हो ।

खासगरी भारतबाट आउने मार्बल, टायल बोक्ने ट्रकलाई दुम्कीवासमा रोकेर ४० टनभन्दा धेरै देखिएको सामान झारिएको हो । बुधबारसम्म प्रहरीले २२ वटा यस्ता बढी तौल बोकेर आएका ट्रक रोकेर सामान झार्न लगाएको बन्जाराले जानकारी दिए ।

उनीहरूको बिलमा गाडीको तौल र सामानको तौल उल्लेख गरिएको हुन्छ । त्यसैका आधारमा ४० टनभन्दा बढी सामान ट्रकवालाकै लगानीमा झार्ने गरिएको हो । भारतबाट आउने ट्रकबाहेक दुम्कीवासमा रहेको होङ्सी र सीजी सिमेन्ट कारखानाबाट पनि बढी तौल राखेर पठाएको सिमेन्ट अर्को गाडीमा झारेर पठाउने गरिएको बन्जाराले सुनाए । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवास र चोरमारामा रहेका फलामे पुल बढी तौल बोकेका ट्रकका कारण भाँचिएपछि पुल जोगाउन त्यसो गर्नुपरेको हो ।

४ दिनअघिदेखि राजमार्गमा प्रहरी खटाएर मालवाहक ट्रक र लरीका सामान झार्न सुरु गरिएको हो । पूर्व-पश्चिम राजमार्गको अरुणखोला, चोरमारा, डण्डा, लोकाहा र बेल्डीहा खोलामा ५२ वर्षअघि निर्माण भएका फलामे पुलमा एकपटकमा ४० टनभन्दा बढी तौलका गाडी हिँडाउँदा भाँचिने जोखिम भएकाले मालसामान झार्नुपरेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०८२ जेठ २९ गते १४:५८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI