कविता यस्तो होस्

कविता यस्तो होस्

कविता यस्तो होस्

कविता यस्तो होस्,
शब्दहरूको भीड होइन,
सजाइएका वाक्यहरूको श्रृङ्खला होइन,
यो त नदेखिने कम्पन जस्तो होस्,
छालहरूले वार पार गरोस्,
मनको गहिराइमा हलचल मच्चावस्।।।

कविता यस्तो होस्,
मुर्छित आशाहरूको बिसाउने मात्र होइन,
उछालिएका सपनाहरूको लक्ष्यदार सजावट पनि होइन,
यो त निदाएको सपनालाई जगाउने
धमिलो आँखा खोल्न सिकाउने उज्यालो होस्।
पीडाहरुको आधार क्षेत्रभित्र सुनौलो भविष्य देखाउन सकोस्

कविता यस्तो होस्,
आफूभित्रको सत्यसँग संवाद गर्ने सामर्थ्य भर्न सकोस्
जहाँ झूटले लाजले मानोस्,
सत्य नाङ्गो होला तर कविताले सुन्दर बनाओस्।

कविता यस्तो होस्,
कविताले निर्धाहरूको आँसु-आशा खस्नुअघि नै,
आवाज विहीनहरूको आवाज बनोस्।
गरुङ्गो परिस्थितिका निर्धाहरूको पनि हृदयलाई हलुका बनाओस्।

कविता यस्तो होस्
जहाँ बिम्बहरू केवल सजावट होइनन्,
जीवनका गहिरा यथार्थहरूको प्रतिबिम्ब हुन सकुन्।
जुन पढ्दै जाँदा आफ्नै कथा जस्तो लागोस्।
समयसँग झुकेको होस्,
समय कवितासँग डराओस्,

कविता यस्तो होस्,
कविको रहर होइन
संवेदनाको गहिरो नदी,
अवलोकनको तीक्ष्ण आँखा,
र सत्य भन्न सक्ने साहस।
कवितामा छचल्कियोस्। ।

कविता यस्तो होस्
जुन पढ्दा शब्द सम्झना नआओस्,
तर भावहरुले मुटु छोवस्।
समय बितेपछि पनि
मनभित्र गुञ्जिरहोस् ।
कालजयी बनोस्।
कालजयी भनोस्।

अन्तर्राष्ट्रिय कविता दिवस (मार्च २१) को सबैमा शुभकामना 🙏

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology