नदीकिनारको शान्त साँझमा
मन्दिरले घाटलाई हेरेर भन्यो…
“तिमी किन गर्व गर्छौ ?
मानिस तिम्रोमा भेला हुँदा
रोदन, बिछोड र अन्तिम अशान्ति मात्र देख्छन्।
मैले जस्तै प्रकाश, शान्ति र भक्ति
तिमीले कहिल्यै दिन सक्दैनौ।”
घाट हल्का व्यंग्यसँग खिस्स हाँस्यो र भन्यो…
“मन्दिर तिमी भ्रममा छौ ।
तिम्रो प्रकाशले मान्छेलाई
केही समय मात्रै राहत दिन्छ ।
तर, मान्छेले सत्य घाटमा आएर बुझ्छन्।
तिमीले ढाकिदिने कुरा
म यहाँ नाङ्गै देखाउँछु।
तिमीले गोरेटो देखाउँछौ,
मैले भने अन्तिम गन्तव्य देखाउँछु।
तिमीले भक्ति सिकाउँछौ,
मैले विनम्रता सिकाउँछु।
तिमीले पुनर्जीवनको स्वप्न बाँड्छौ,
मैले अन्त्यको सत्य सुनाउँछु।
तिमीले हात जोड्न सिकाउँछौ,
मैले हात छोड्न सिकाउँछु।
तिम्रो थालीमा अपेक्षाको फूल राख्छन्,
मेरो छेउमा आत्मबोधको अश्रु बगाउँछन्।
तिमीले देवत्व सुनाउँछौ,
मैले मान्छेलाई मान्छे बनाउँछु।
किनकि,
तिमीले जीवनको आशा सिकाउँछौ।
मैले जीवनको सीमा सिकाउँछु ।
अहंकार, लोभ र पापप्रतिको क्षमाभाव
तिम्रो समीपमा भन्दा,
मेरो समीपमा सिक्छ मान्छे ।।
प्रिय मन्दिर,
तिम्रो महिमा हुँदाहुँदै पनि
जीवनको गहिरो बोध
मेरो समीपमा मात्रै पुरा हुन्छ।
मन्दिरले बेल बजाउँदै तिखो स्वरमा भन्यो…
“विश्वास बिना मानिस बाँच्नै सक्दैनन्,
हिम्मत तिमीले होइन, मैले दिन्छु।
मानवीयता, करुणा, सद्भाव—
यी पाठहरू तिमी कहाँ सिकाउँछौ ?”
घाटले चिप्लो ढुंगामा हात राख्दै उत्तर दियो…
प्रिय मन्दिर,
“मानिसको अभिमान तिमीले चुम्बन गर्छौ,
तर म त्यसलाई भत्काइदिन्छु।
जीवन एक दिन
यति सानो छ भन्ने चेत
तिमीले होइन, मैले दिलाउँछु।
अहंकार पगाल्ने
अन्तिम पाठशाला म नै हुँ।”
दुवैबिच तिखो संवाद चलिरह्यो …..
मन्दिरले आशाको मूल्य गान गर्यो,
घाटले अन्त्यको सत्यको महिमा गर्यो।
तर अन्तिममा,
उनीहरू दुवैले महसुस गरे,
मानिसको जीवनमा
न सुरु मात्र पर्याप्त छ,
न अन्त्य नै पूर्ण सत्य।
जीवन बुझ्न
आशा र सत्य दुवै चाहिन्छन्।
मन्दिरको उज्यालोले दिशा दिन्छ,
घाटको मौनले गहिराइ।
यही बुझेर
मन्दिरले पनि घन्टी थाम्यो,
घाटले पनि नदीमा देखिएको आफ्नो छायाँ हेर्यो ।
र उनीहरू सम्झिए,
“मानवीय मूल्य त तब मात्र जन्मिन्छ,
जब,
उज्यालो र सत्यले,
आशा र विश्वासले,
ज्ञान र बोधले,
एउटै धुरीलाई छानो बनाउँछन् ।।
जय मन्दिर 🙏 जय घाट 🙏 …..
प्रकाशित : २०८२ मंसिर २० गते १८:०३
Facebook Comment