कावासोती । नवलपुर सदरमुकाम कावासोती–१ लोकाहा ओरालोमा सडक ढलान गरेर हस्तान्तरण गर्ने बेलामा भत्काइएको छ । गुणस्तर मापदण्ड विपरित सडक ढलान गरेको पुष्टि भएपछि हस्तान्तरण गरेर रकम बुझ्ने बेलामा सडक पूर्ण रुपमा भत्काइएको हो ।
यो सडक देवचुली र कावासोती नगरपालिका जोड्ने गौरवको आयोजनामा राखिएको चक्रपथ क्षेत्रभित्र पर्छ । एक सय ३५ मिटर सडक ढलान गर्नका लागि काठमाडौंको पपुलर कन्स्ट्रक्सन प्रलिले ५० लाखमा रुपियाँमा ठेक्का लिएको थियो । तर काम सकेर रकम बुझ्ने बेलामा प्रयोगशालामा सडकको गुणस्तर परीक्षण गर्दा पूर्णतः असफल भएको कावासोती–१ का कार्यवाहक अध्यक्ष ओम थापा मगरले जानकारी दिए ।
‘‘यो सडक कात्तिकमा सम्झौता भएर चैत मसान्त भित्र सक्नु पर्ने थियो । समयमै सकियो पनि,’’ कावा अध्यक्ष मगरले भने, ‘‘तर काम सकिएपछि परीक्षण गर्दा मापदण्ड विपरित पाइयो, त्यसैले पुनः सडक ढलान गर्ने गरी सोही कम्पनीलाई सोही रकममा असोज मसान्तसम्मको समय सीमा दिएर निर्माण गर्न भनेका छौं ।’’
कावासोती नगरपालिकाको पूर्वाधार विकास शाखाका ईन्जिनियर रञ्जित केसीले प्रयोगशालामा ‘कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट’ गर्दा ‘स्ट्रेन्थ’ नपुगेर फेल भएको जानकारी दिए । उनका अनुसार गिटि, बालुवा र सिमेन्टको मात्रा उचित रुपमा नमिलाई ढलान गरेकाले पुरै भत्काएर नयाँ बनाउन निर्देशन दिइएको छ ।
कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले उक्त ठेकेदार कम्पनीले धरौटी रकम बुझाएको र कुनै पनि पेस्की रकम नबुझेकाले थप निर्धातिर समयमा गुनासोरहित सडक बनाउने सर्तमा उसैलाई नै जिम्मा दिइएको बताए । फेरी पनि यस्तै कमसल खालको काम गरेमा उसको लाइसेन्स कालो सूचिमा राख्नेदेखि रकम रोक्का गर्ने सम्मको चेतावनी दिएका छन् ।
प्रकाशित : २०८२ साउन ७ गते १२:२२
Facebook Comment